मानव अधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिसम्बन्धी तालिम सुरू

कास्की । २०७८ मङ्सिर १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिसम्बन्धी दुई दिने तालिम मङ्सिर १६ गतेदेखि पोखरामा सुरू भएको छ । मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले तालिमको उद्धेश्य माथि प्रकाश पार्दै रेडियो कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले मानव अधिकार शिक्षा कार्यक्रम मार्फत मानव अधिकारका विषयलाई कसरी उठान गर्न सकिन्छ भन्नेबारे तालिममा सिकाई हुने बताउनुभयो ।

तालिमले रेडियो कार्यक्रमको कन्टेन्टलाई मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । इन्सेक बागमती प्रदेश कार्यालय संयोजक कृष्ण गौतमले प्रदेश कार्यलयहरूबाट कार्यक्रमहरू उत्पादन र प्रसारण गरे यता एकरूपता आउन नसकेका कारण तालिमको आवश्यकता परेको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले प्रदेश स्तरबाट हाल सम्म ७१ ओटा कार्यक्रम प्रसारण भइसकेको अवस्थामा त्यसको अनुभव साटासाट गर्ने र थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा तालिमले महत्पवूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मानव अधिकार सवालहरू फरक फरक रहने हुँदा एक आपसमा अन्तरक्रिया गर्दा थप नयाँ विषयहरू आउन सक्ने भएकाले पनि तालिम प्रभावकारी हुने उहाँले बताउनुभयो । दुई दिने तालिममा मिडियाको भाषा र विशेषता, फिचर, रेडियो म्यागेजिन र अन्तरवार्ता विषयमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सञ्चारकर्मी श्रीराम पौडेल प्रशिक्षकको रूपमा रहनुभएको छ ।

यस्तै समाचार र यसका विशेषता, समाचार र मानव अधिकारका विषयमा रमेश तिमल्सिना र मदन पौडेलले सहजीकरण गर्नुहुनेछ । तालिममा इन्सेकको सात ओटै प्रदेश कार्यालयका कार्यक्रम अधिकृत र प्रस्तोताहरू सहभागी हुनुभएको छ ।

सुशन घिमिरे