मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यमा जोड

काठमाडौँ । २०७९ असार ९ गते

इन्सेकद्वारा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यको आवश्यकतामा जोड दिइएको छ । इन्सेकले असार ८ गते आयोजना गरेको मानव अधिकार संरक्षणको सवालमा राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षणका लागि समन्वय र सहकार्यका साथ अघि बढ्ने बताउनु भयो । उहाँले भन्नु भयो-‘मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वयका लागि आयोग हरहमेशा तयार छ ।’

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सहकार्यका साथ काम गर्दा सकारात्मक परिणाम प्राप्त हुने बताउनु भयो । राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझाले पहुँचका आधारमा न्याय निरूपण हुन नहुने बताउँदै सबैले न्याय पाउने वातावरण निर्माणका लागि राष्ट्रिय मानव अधिकार संस्थाहरूको सहकार्यमा जोड दिनु भयो । राष्ट्रिय दलित आयोगका सदस्य जिवछ यादवले सबै आयोग र मानव अधिकार संस्थाहरूले संयुक्त रूपमा काम गर्नु पर्ने बताउनु भयो । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग र अन्य आयोगले सरकारलाई गरेका सिफारिश कार्यान्वयनका लागि दबाब दिनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो-‘मानव अधिकार संरक्षणका सवालमा सहकार्य र समन्वयका लागि राष्ट्रिय मानव अधिकार आयोगले नेतृत्व लिनु पर्दछ ।’

अनलाइन डेस्क