
मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
बाग्लुङ । २०७९ जेठ २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा आइतबार बागलुङमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका जस्ता संवेदनशील मानव अधिकारका विषयमा आफु गम्भिर रहेको बताउनुभएको छ । उहाँले सञ्चारकर्मी र सञ्चारमाध्यमकै कारण अधिकार हनन्का घटनामा न्यूनीकरण भएको भन्दै यसलाई शुन्यमा झार्नको लागि सरोकारवाला एक हुनुपर्ने बताउनु भयो ।
बागलुङ नगरपालिकाकालाई छिट्टै बालमैत्री नगर घोषणा गर्ने तयारीमा रहेको भन्दै खड्काले सञ्चारकर्मी र जनप्रतिनिधि मिलेर काम गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बागलुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद शर्माले मानव अधिकारको क्षेत्र फराकिलो भएपनि मौलिक अधिकारमा समेटिका गाँस, बास र कपासमा सरोकारवाला संवेदनशील बन्नुपर्ने बताउनु भयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई जनमैत्री बनाउनको लागि आफु सधैँ संवेदनशील रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय समाचार समितिका धौलागिरी संयोजक राम थापा ‘अविरल’ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सिर्जना पन्त