मानव अधिकार समूहद्वारा शारदा नगरपालिकाको ध्यानाकर्षण
सल्यान । २०७८ असार २५ गते
मानव अधिकार समूहद्वारा शारदा नगरपालिकालाइ शिक्षा, स्वास्थ्य, आवास र खाद्यका सवालबारे ध्यानाकर्षण पत्र बुझाएको छ । इन्सेकको इएलपी परियोजना अन्तरगत नगरपालिकामा गठित मानव अधिकार समूहको नेतृत्वमा पत्रकार महासंघ र मानव अधिकारको क्षेत्रमा कृयाशिल अधिकारकर्मीहरूले सामुहिक रूपमा नगरपालिकाका प्रशासकीय अधिकृत शंकरप्रसाद पाठकलाई असार २४ गते ध्यानाकर्षण पत्र बुझाएको समूहका अध्यक्ष मुना हमालले जानकारी दिनुभयो । अध्यक्ष हमालका अनुसार भूमीसम्बन्धी समस्या समाधान आयोग र नगरपालिकाबिच सम्झौता तथा बजेट समेतको व्यवस्था गरी कार्य अगाडि बढाउनु पर्ने, नगरपालिकामा कृषि, सुशासन, विपद व्यवस्थापनसम्बन्धी नीतिहरू तत्काल बनाउनु पर्ने, कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको र विद्यालय भर्ना अभियान समेत सञ्चालन भइरहेकोले शिक्षक विद्यार्थीलाई कोभिड बिरूद्धको खोपको व्यवस्था गर्नुपर्ने विषय पत्रमा राखिएको छ । यस्तै नगरपालिकाको फोहर व्यवस्थापन समयमा नभएकोले ‘डम्पीङ साइड’ व्यवस्थित गर्नुपर्ने, खलङ्गा र सितलपाटीको खानेपानी शुद्धिकरण गर्नुपर्ने, नगरपालिकामा एम्वुलेन्स, शव बाहन र अग्नी नियन्त्रक यन्त्रको व्यवस्थापन गर्नुपर्ने, जिल्ला अस्पतालमा ‘ब्लड वंैक’ स्थापना गर्नुपर्ने लगायतका विषयहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पाठकले अधिकारकर्मीले उठाएका विषयहरू सान्दर्भिक रहेको भन्दै नगर प्रमुखमार्फत कार्यपालिका बैठकमा पेस गर्न अनुरोध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मिना बुढाथोकी