मानव अधिकार समूहद्वारा स्वास्थ्य चौकीको अनुगमन

कपिलवस्तु । २०७८ पुस २७ गते

इन्सेकद्वारा गठित मानव अधिकार समूह बुद्धभूमिले बुद्धभूमि नगरपालिका–५ स्थित राजपुर स्वास्थ्य चौकीको अनुगमन गरेको छ । मानव अधिकार समूह बुद्धभूमिका अध्यक्ष कृष्णप्रसाद खनालको संयोजकत्वमा इन्सेक सहजकर्ता र समुहको टोलीले राजपुर स्वास्थ्य चौकीको समस्याहरू पहिचान गर्नका लागि स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले बर्थिङ् सेन्टर सञ्चालन गरिएको स्वास्थ्य चौकीमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधिहरू पुर्ण रूपमा उपलब्ध नरहेको, सुत्केरी गराउन आउने महिलाहरूका लागि शौचालय नभएको, प्रयोगशाला नभएको पाएको थियो । सुत्केरी पश्चात महिलाले पाउने प्रोत्साहन स्वरुप रकम समयमा उपलब्ध गराउन नसकेको, नागरिक वडा पत्र नभएको र महिला र पुरुषका लागि शौचालय अलगअलग नभएको समस्याहरू देखिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

सो क्रममा स्वास्थ्य चौकीका प्रमुख विष्णुदेव खनालले यस स्वास्थ्य चौकीमा जनशक्तिको अभाव नभएको बताउनु भयो । सरकारले ३५ प्रकारका औषधिहरू निःशुल्क वितरण गर्ने भनियता पनि ३५ प्रकारका औषधिहरू उपलब्ध नभएको बताउनु भयो । बर्थिङ् सेन्टर सञ्चालन भएको यो स्वास्थ्य चौकीमा वार्षिक २ सय जना गर्भवती आउने भएपनि सुत्केरी पश्चात दिइने प्रोत्साहन भत्ता समयमा दिन नसकिएको उहाँले बताउनु भयो । ‘डेलिभरीका लागि दुई ओटा बेड छन्, सुत्केरी महिलाहरूका लागि कम्बोड शौचालयको निर्माण गर्न सकिएको छैन कम्बोड शौचालय नहुँदा सुत्केरीलाई समस्या भएको छ ।’–प्रमुख खनालले बताउनु भयो । मानव अधिकार समूहका अध्यक्ष कृष्णप्रसाद खनालले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरूको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको बताउनु भयो ।

पार्वती आचार्य