मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण

सप्तरी । २०८० चैत २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिका मानव अधिकार समूहले शम्भुनाथ नगरपालिका वडा नम्बर ७ स्तरीय मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण वैठक ०८० चैत २७ गते सम्पन्न गरेको छ । शम्भुनाथ नगरपालिका–७ भङगास्थित सामुदायिक भवनमा आयोजित समूहको भेलाले ठकनी कुमारी रामको अध्यक्षतामा २२ सदस्यीय समूह चयन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि मानव अधिकार समूहकी प्रदेश अध्यक्ष देबीमाया भट्टराईले नगरभित्र भएका कतिपय घटना र पीडितको समस्या सार्वजनिक नहुने भएकोले वडाहरूमा समूह गठन गर्नुपरेको बताउनु भयो । आफ्नो अधिकार र न्यायिक प्रक्रिया बारे सबैले थाहा पाउन जरुरी रहेको भन्नुहुँदै उहाँले हिंसा विरुद्ध दवाव सृजना गर्न र न्यायसम्म पीडितको पहुँच पुर्‍याउन वडा स्तरीय मानव अधिकार समूह सहयोगी हुने बताउनु भयो ।

    

नगरपालिका सदस्य नथरी कुमारी दासले नागरिक अधिकारलाई सुनिश्चित गर्नु सबै सरोकारवाला र जिम्मेवार निकायको कर्तव्य भएको बताउनु भयो । महिला हिंसा विरुद्ध सदैब आवाज उठाउने गरेकाले मानव अधिकार समूहले बनाएको योजना र समस्या समाधानमा सदैव सहयोग रहने दासले प्रतिबद्धता जनाउनु भयो । नगर मानव अधिकार समूहका अध्यक्ष पुल्कित भगतले मानव अधिकारलाई सबैको घरसम्म पुर्‍याउन तथा मौलिक अधिकार र कर्तव्यबारे जानकारी दिन वडा स्तरीय समूह गठन भएको बताउनु भयो । वैठकले विद्यालय अनुगमन र भर्ना अभियान, अनौपचारिक शिक्षा, वडामा सरसफाई कार्यक्रम, वृक्षारोपण, लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन सम्बन्धमा सर्वसहमतीले कार्ययोजना बनाएको छ । वैठकको समन्वय गर्दै इन्सेक सहजकर्ता अजय परीयारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्य बारे प्रकाश पार्नु भयो । वैठकमा नगर मानव अधिकार समूहकी सदस्य कान्ति देबी रामको समेत उपस्थिती रहेको थियो ।

मनोहरकुमार पोखरेल