मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू

कपिलवस्तु । २०७९ माघ १३ गते

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर सुनिता गुप्ताले मानव अधिकार र कानुनी विषयका बारेमा बुझ्दै जाने क्रम रहेको हुँदा यस तालिमबाट धेरै बिषयबस्तुहरू सिक्ने अवसर पाउने  बताउनु भयो । उहाँले उपप्रमुखको मुख्य कार्य भनेको पीडित पक्षलाई न्याय दिने भएकोले निष्पक्षरुपमा न्याय दिन परेको समेत उहाँले बताउनु भयो । मायादेवी गाउँपालिकाका उपाध्यक्ष सरस्वती यादवले मानव अधिकार सम्बन्धि तालिमले हामी जनप्रतिनिधिहरूलाई मानव अधिकारका सवालमा बुझ्न सहज हुने बताउनु भयो  । उहाँले आफु जनप्रतिनिधिको हैसियतमा रहदा गाउँपालिकाले दिने सेवा सुविधामा जनतालाई समान अधिकार दिने प्रतिवद्धता जनाउनु भयो ।

जिल्ला अदालत कपिलवस्तुका श्रेष्तेदार सुमन पाण्डेले मानव अधिकार, मौलिक हक, न्यायीक समितिको काम कर्तव्य अधिकारका विषयमा सहजीकरण गर्दै कानुनमा टेकेर मात्र निर्णय गर्न न्यायिक समितिलाई सुझाव दिनु भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख शैलेश्वरी बोहोराले महिलासँग सम्बन्धीत कानुन घरेलु हिंसा , बहु विवाह, बाल विवाह लगायतका कानुनी विषयमा सहजीकरण गर्नु भएको थियो । मानव अधिकारकर्मी पोमनारायण पौडेलले आर्थिक, सामाजिक, तथा सास्कृतिक अधिकार र उपभोक्ताको अधिकारको विषयमा सहजीकरण गर्नु भयो । इन्सेकका लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक सरस्वती मल्लले तालिमको उदेश्य माथि प्रकाश पार्दैै इन्सेकले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समय सम्म काम गर्दै आएको बताउनु भयो । दुई दिन सम्म सञ्चालन हुने तालिममा  इन्सेक अभियान र मानव अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र उपभोक्ता अधिकार, मानव अधिकार मौलिकहक र न्यायिक समितिको काम कर्तव्य अधिकार, लैगिंक हिंसा र यसको कानुनी प्रावधान वर्तमान अवस्थाका बारेमा सहजजिकरण गरिने इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले बताउनु भयो

पार्वती आचार्य