मानव बेचबिखनविरूद्ध अन्तरक्रिया सम्पन्न
सिरहा । २०८१ साउन १७ गते
“मानव बेचबिखनविरुद्धको अभियानमा कसैलाई पनि नछुटाइकन अगाडि बढौं” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस ०८१ साउन १५ गते अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
कल्याणपुर नगरपालिका, इन्सेक, मुक्ति नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, सहयोगी हातहरू, समग्र जनउत्थान केन्द्र, प्रदेश युवा सञ्जाल, दलित जनकल्यान युवा क्लव, युएनओपीएस, जिल्ला प्रहरी कार्यालयलगायत संघसंस्थाको आयोजनामा कल्याणपुरमा साउन १५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साहले गरिब किसान मजदुरहरू रोजगारका लागि भारतको विभिन्न शहरहरूमा गएर काम गरेपनि विभिन्न प्रलोभनमा पारी ठगी र शोषणमा परिरहेको बताउनु भयो । उहाँले बैदेशिक रोजगारको नाममा बेचबिखन भए पनि सरोकारवालाहरू गम्भीर नभएको आरोप लगाउनु भयो । केन्द्रदेखि प्रदेशसम्म र हरेक निकायमा बिचौलियाहरू भएकोले गरिबका कुराहरूको सुनुवाई नभएको साहको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाकुले मानव बेचबिखन गम्भीर अपराध भएको बताउनु भयो । पहिला बेचबिखन भन्दा महिलाहरू मात्रै बेचिने भनिन्थ्यो भने अहिले बेचबिखनको प्रकार र परिभाषा पनि फरक भएको छ ।
सुरक्षित आप्रवासन (सामी) का प्रतिनिधि नथुनी मण्डलले पहिला चेलीबेटीलाई प्रलोभनमा पारी विदेशमा लगेर बेच्ने, श्रम शोषण, यौन शोषण गर्ने गरिन्थ्यो पछि जब सबैका लागि बैदेशिक रोजगारको बाटो खुल्यो तब देखि प्रायः त्यो सबै श्रम शोषणमा परेको वा कुनै पनि प्रकारको शोषणमा परेको छ कतै न कतै एक प्रकारको बेचबिखनमै पर्ने गरेको बुझिन्छ ।
इन्सेक प्रतिनिधिले एउटा कपडा किन्दा हामी त्यसको गुणस्तरीयता, मजबुती हेर्ने गर्छौ भने आफ्नो जीवन दाउमा लगाउनु भन्दा पहिला केही हेर्दैनौ, हामीलाई किन र कहाँ लगिरहेको छ त्यहा हामीसँग के हुन सक्छ, केही बुझेर जानु हुन्न र पछि बेचबिखनमा परी पछताउनु भन्दा पहिला नै होस पुर्याउन आवश्यक रहेको बताउनु भयो ।
दुर्गा परियार