मिडिया साझेदारी बैठक सम्पन्न
तनहुँ । २०७८ असार १९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासङ्घ तनहुँको संयुक्त आयोजनामा असार १९ गते दमौलीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । कार्यक्रममा कोभिड–१९ को महामारीले पत्रकार, सञ्चारकर्मी, सञ्चार माध्यम र मानव अधिकार रक्षकहरूमा परेको असरको बारे अन्तरक्रिया गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक चन्द्रकान्त चापागाईले कार्यक्रममा मानव अधिकार रक्षक र उनीहरूका चुनौती बारे कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकार रक्षकले कोभिड–१९ महामारीको बेला झेल्दै आएका समस्यालाई चित्रण गर्दै कोभिड–१९ ले अन्य क्षेत्रमा जस्तै पत्रकार र मानव अधिकार रक्षकलाई पनि ठुलो असर गरेको बताउनुभयो । उहाँले यस समयमा धेरै पत्रकारहरूले रोजगारी गुमाएको, आर्थिक सङ्कटले सञ्चार माध्यम बन्द भएको, पत्रपत्रिकाको वितरण प्रक्रिया अवरूद्ध जस्ता समस्या भएको बताउनुभयो ।
मानव अधिकार रक्षकहरू यो महामारीबाट निकै पीडित भएको बताउँदै उहाँले समग्रमा नागरिकका आधारभुत अधिकारहरू पनि यो महामारीको कारण हनन भएको बताउनुभयो । इन्सेक प्रदेश संयोजक शिव खकुरेलले ‘कोभिड– १९ ले सञ्चार र मानव अधिकार रक्षकमा पारेको प्रभाव’ विषयमा इन्सेकले तयार गरेको अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै उहाँले कोभिड १९ को प्रकोपबाट भएको महामारीले मानवअधिकार र सञ्चार क्षेत्रमा ठुलो असर परेको बताउनुभयो ।
नागरिकको अधिकार रक्षाकोलागि अग्रपङ्क्तिमा रहेर खट्ने मानव अधिकारकर्मी, पत्रकार, स्वास्थ्यकर्मीहरू महामारीको चपेटामा र जोखिममा परेको उहाँले बताउनुभयो । निषेध आदेशको क्रममा सञ्चारकर्मी र मानव अधिकार रक्षकहरू माथि पनि ज्यादतीका घटना भएको भन्दै उहाँले मानव अधिकार रक्षाकोलागि पत्रकार र मानव अधिकारकर्मीहरू सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले ‘कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव’ बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महिला मानवअधिकार रक्षक सञ्जालकी कल्पना पौडेलले कोभिड–१९ को कारण भएको प्रभाव र असरको बारेमा चर्चा गर्दै उहाँले निषेध आदेशको अवधिमा महिला अधिकार हननका घटना धेरै बढ्ने गरेको बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई