मिडिया साझेदारी बैठक सम्पन्न

धनुषा । २०७७ पुस २ गते

मानव अधिकारको अवस्थाबारेमा सञ्चारकर्मी तथा मानव अधिकारकर्मीबिच पुस १ गते जनकपुरमा मिडिया साझेदारी बैठक सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा मिडिया साझेदारी बैठक सम्पन्न गरिएको हो । बैठकमा प्रदेश २ मा १४ जना पत्रकारमाथि हालसम्म राज्य र गैरराज्य पक्षबाट कुटपिट, यातना तथा दुव्र्यवहारका घटना भएको प्रदेश २ संयोजक राजु पासवानले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रदेश २ मा कथित बोक्सीको आरोपमा १० महिलालाई दुर्व्यवहार गरिएको र राज्यपक्षबाट दुई जनालाई गोली हानि हत्या गरिएको उहाँले बताउनु भयो । नेपाल पत्रकार महासङ्घ धनुषा सभापति अनिल कुमार मिश्रले मानवको पक्षमा काम गर्ने हामी सबै मानव अधिकारकर्मी रहेकाले गर्दा सञ्चारकर्मीहरुले आआफ्नो तर्फबाट मानव अधिकार उल्लङ्घनका घटनालाई जनता समक्ष पुर्‍याउनु हाम्रो दायित्व भएको बताउनु भयो । अहिले सञ्चारकर्मीहरुले सञ्चारमाध्यममा लेखेको र बोलेको आधारमा हत्या, हिंसा, बलात्कार र जघन्य प्रकृतिका घटनालाई गाउँघरमै हुँदै आएको मिलापत्रका घटनामा कमी आएको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष मनिका झाले अहिलेको समाजमा महिला असुरक्षित रहेको बताउँदै कोभिड–१९ को समयमा महिलाहरू अझै बढी पीडित भएका घटना आएको बताउनु भयो ।

मानव अधिकारको अवस्था निकै नाजुक रहेकाले गर्दा कहिलेकहीँ मानव अधिकारको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिलाई समस्या र पीडितलाई अझै पीडित गर्दै आएको उहाँले बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मनमाया रानामगरले राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को समयमा समेत पीडितको घर, घटनास्थल र सम्बन्धित सरोकारवालासँग समन्वयमा घटनाहरुको छानविन गर्दै आएको बताउनु भयो । आयोगबाट हुन नसक्ने र प्रहरी प्रशासनमा समेत गएर हामीले पीडितको न्यायका लागि पहल गर्नुपर्ने हाम्रो धर्म निर्वाह गर्दै आएको उहाँले बताउनु भयो ।

शैक्षिक अभियन्ता राधा कोइरालाले समाजमा अहिले व्यक्तिगत स्वार्थपूर्तिका स्वादहरु बढी प्राथमिकता पाई रहेकाले गर्दा समाजलाई सुन्दर कसरी बनाउनेतर्फ हाम्रो सोच केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । उहाँले अहिले समाजमा अरुको भलाई भन्दा पनि आफ्नो भलाइका लागि सोच्नेहरू बढी हावी हुँदै गएकाले गलत सोच र धारणालाई हटाउनुपर्ने बताउनु भयो ।

दिपेन्द्रप्रसाद सिंह