मिथिलाका मानवअधिकार समुह र सरोकारवालालाई दुई दिने तालिम सम्पन्न
धनुषा । ०७९ माघ १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र मिथिला नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि पुस २९ र ३० गते दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिममा मानवअधिकार समुहका पदाधिकारी तथा सदस्य, मिथिला नगरपालिकाका बाल संजालका पदाधिकारी, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका शाखा प्रमुख, वडाध्यक्ष, मेयर र उपमेयरलगायतको सहभागिता रहेको थियो । मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले इन्सेकले धनुषाको १८ पालिकामध्ये मिथिला नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम लागु गरेकोले धन्यवाद दिदै नगरपालिकाले सक्दो साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले मानवले आफनो अधिकारको नाममा अरुको अधिकार हनन् गर्न नहुने बताउँदै उहाँले प्रत्येक व्यक्तिले आ आफनो तर्फबाट मानवअधिकारको रक्षार्थका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाभित्रका युवाहरु दुर्व्यसनी र लागु पदार्थ सेवनमा फसेकाले त्यसलाई रोक्न र युवालाई जागरुक गराउने र मानवअधिकारको सवालमा कार्यक्रमको खाका तयार गरि इन्सेकले ल्याएको खण्डमा नगरपालिकाले समेत लगानी गर्ने बताउनुभयो । मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकीले मानवअधिकारको रक्षार्थ हामी सवै आफूबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, वातावरणलगायतको सवालमा सचेत रहेको बताउनुभयो । शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित गर्ने सङ्किर्ण विचार विरुद्ध चौतर्फी दवाव आवश्यक रहेको उहाँले बताउनु भयो । शिक्षा आर्जनमा जोड दिनुपर्ने बताउँदै उहाँले शिक्षाको स्तर बढाउन सकेको खण्डमा चेतना स्तरमा समेत बृद्धि हुने बताउनुभयो ।
मधेस प्रदेश संयोजक राजु पासवानले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेक हातेमालो गर्न, समन्वय र सहकार्य गरेर समाधान पहिल्याउन तत्पर रहेको बताउनु भयो । दुई दिने तालिममा मधेस प्रदेश संयोजक पासवानले इन्सेकको परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता, महिलाविरुद्धका हिंसाका घटनामा कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिनु भयो । इन्सेक मधेश प्रदेशका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले मानव अधिकार समुहको काम, कर्तव्य र अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धको अधिकारका विषयमा प्रशिक्षण दिनु भयो । मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता काफलेले नगरपालिकालाई साक्षर पालिका घोषणा गराउने प्रयास भई रहेको बताउनभयो । नगरपालिकाबाट विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन वा उमेर बढी भएकाले विशेष कार्यक्रममार्फत साक्षर बनाउँदै पालिकालाई चाँडै पूर्ण साक्षर पालिकाको लागि प्रयास भई रहेको बताउनुभयो । वडाध्यक्ष सविन विक्रम थापाले इन्सेकले मिथिला नगरपालिकामा मानवअधिकार शिक्षा कार्यक्रम संचालन गरेर यहाँका शिक्षा, स्वास्थ्य, वातावरण र विभेदलगायतको सवालमा कार्यक्रम गरि रहँदा यसबाट पालिकावासी नै लाभान्वित हुने भएकोले खुशी व्यक्त गर्नुभयो । उहाँले वडास्तरमा समेत मानवअधिकारको कार्यक्रम लागु गर्न र गराउन नगरपालिका र वडाबाट हुने साथ र सहयोगको लागि आफू सदैव तत्पर रहेको बताउनुभयो । मानव अधिकार समुहका अध्यक्ष मोहन कुमार महतोले शिक्षा क्षेत्रबाट आफनो टिमले सुरुवात गर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा देखिएको व्यथिती र समस्याबारे स्थलगत विद्यालय अनुगमन गर्न ९ सदस्य कमिटी बनाएको बताउनुभयो । दुई दिने तालिममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू, मानव अधिकार समुहका पदाधिकारीहरूको सहभागिता भएको कार्यक्रम सहजकर्ता अनिता यादवले बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह