मिथिलामा शिक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न
धनुषा । २०७८ असार २१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नपा–२ स्थित श्री जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे सरोकारवालाबिच असार २० गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मिथिला नगरपालिकाका शिक्षा सहायक जितेन्द्रकुमार शर्माले नगरपालिकाले पहिलो प्राथमिकता दिएर शिक्षा क्षेत्रमा लगानी गर्दै आएको बताउनु भयो । उहाँले शिक्षा सबै नागरिकको मौलिक अधिकार भएकाले विद्यालयमा भर्ना गराउने अभियान सञ्चालन गरेको र हाल कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नभएको बताउनु भयो । कोभिडका कारणले पारेको समस्याले भने बालबालिका प्रभावित भएका शर्माले बताउनु भयो । मिथिला नगरपालिकामा विद्यालय जाने उमेर पुगेर पनि विद्यालय जान नसकेको र भर्ना हुन नसकेको भए बाल अधिकार सचेतना समूहलाई विद्यालय वा जनप्रतिनिधीहरूमार्फत नगरपालिकामा जानकारी दिन उहाँले आग्रह गर्नु भयो ।
नमुना बालविकास केन्द्र बनाउनका लागि यसै आर्थिक वर्षमा नगरपालिकाले जनता माध्यमिक विद्यालयको बालविकास केन्द्रको प्रस्ताव अघि सारेको मिथिला नगरपालिकाका शिक्षा सहायक जितेन्द्रकुमार शर्माको भनाइ छ । मिथिला नगरपालिकाले २८ ओटा सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शतप्रतिशत भर्ना अभियान, भौतिक पूर्वाधार निमार्ण, छात्रामैत्री शौचालय निर्माण, शैक्षिक गुणस्तरका लागि विज्ञान प्रयोगशाला, खेलकुद सामग्री, शैक्षिक सामग्री, पाठ्यपुस्तकलगायत आवश्यकताको आधारमा बजेट विनियोजन गर्दै आएको उहाँले बताउनु भयो । जनता माध्यमिक विद्यालय नक्टाझिजका प्रधनाध्यापक श्यामकुमार यादवले विद्यालयहरूको शैक्षिक गुणस्तरको लागि विद्यार्थी अनुपातमा शिक्षक दरवन्दी नहुनु दुःखद् रहेको बताउनु भयो । माध्यमिक तहका शिक्षकको दरबन्दी नहुनु र शिक्षक बिनाको गुणस्तरीय शिक्षाको परिकल्पना कसरी गर्ने भनी उहाँले प्रश्न गर्नु भयो ।
८ सय विद्यार्थी अध्ययनरत रहेको जनता माध्यमिक विद्यालयमा १५ जना शिक्षक मात्रै भएकाले शिक्षण अभ्यास गराउन निकै समस्या भइरहेको उहाँले बताउनु भयो । एक शैक्षिक सत्रमा वा आर्थिक वर्षमा एउटा नमुना विद्यालय घोषणा गरी विकास गर्न सकेको खण्डमा शैक्षिक स्तर बढ्ने वहाँले बताउनु भयो । शिक्षक भरतलाल महतोले विद्यालयले कितावी ज्ञान दिनुको साथै नेतृत्व क्षमता विकास र बालविकासको वौद्धिक विकासको लागि व्यवहारिक ज्ञान पनि दिनुपर्नेमा जोड दिनु भयो । पत्रकार विनोदकुमार महतोले शिक्षा क्षेत्रमा मिथिला नगरपालिकाले राम्रो प्रगति हासिल गरिरहेको बताउनु भयो ।
बाल अधिकार चेतना समूहका अध्यक्ष दिवेशकुमार महतोले जनता माध्यमिक विद्यालयमा कितावी ज्ञानसँगै शिक्षक र विद्यार्थीहरूको अग्रसरतामा अतिरिक्त क्रियाकलाप हुँदै आएको बताउनु भयो । यसैबिच, मिथिला नगरपालिकाको श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहलाई दिवेशकुमार महतोको अध्यक्षतामा १५ सदस्यीय समूहको पुनर्गठन गरिएको छ । पुनर्गठित समुहलाई शैक्षिक क्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनारायण महतोबाट ७ हजार ३ सय ७१ रुपियाँ प्रदान गरिएको छ ।
दिपेन्द्रप्रसाद सिंह