








डडेल्धुरा । २०७७ कात्तिक २६ गते
डडेल्धुरा जिल्लाका नागरिक अगुवाहरूले संविधानप्रदत मौलिक अधिकारहरूबाट आम नागरिक अझै पनि वञ्चित हुनुपरेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २५ गते जिल्ला सदरमुकाममा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाल र चुनैति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी मानव अधिकार निगरानी समूहका सदस्यहरू, नागरिक समाजका अगुवाहरू, सञ्चारकर्मी, अधिकारकर्मी लगायत सरोकारवालाहरूले संविधान प्रदत्त मौलिक अधिकारहरू उपभोग गर्न नपाउँदा नागरिकले परिवर्तनको प्रत्याभुति गर्न नसकेको बताए ।
कार्यक्रममा सहभागीहरूले डडेल्धुरामा शिक्षा, स्वास्थ्य,, खाद्य र आवास अधिकारका थुप्रै समस्या र सवालहरू सम्वोधनका लागी राज्यले भुमिका निर्वाह गर्नुपर्ने बेलामा तीनओटै तहका सरकारले मौलिक अधिकारहरू उपभोग गर्ने वातावरण बनाउन क्रियाशील हुनुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तर बिष्टले मौलिक अधिकार उपभोगका लागि कतिपय कानुन बन्न नसकेको र बनेका कतिपय कानुनहरू पनि कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारले मौलिक हक कार्यान्वयनका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
अमरगढी नगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा पर्याप्त मात्रामा औषधि रहेको र सम्पुर्ण स्वास्थ्यकर्मीलाई बिरामीहरुको उपचारका लागी २४ सै घण्टा सेवा दिन निर्देशन दिएको अमरगढी स्वास्थ्य शाखाका प्रमुख गणेश विष्टले बताए । अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले मानव अधिकार समूहले नागरिकका अधिकारका लागि सक्रिय रूपमा क्रियाशील भई सरोकारवाला निकायलाई कार्यान्वयनका लागि दबाब दिनुपर्ने बताउनु भयो । साथै उहाँले इन्सेकले अधिकारका विषयमा आम नागरिकलाई सचेत गराई मानव अधिकारमैत्री नगरपालिका बनाउन सहयोग गरिरहेको बताउनु भयो ।
भुपेन्द्र विष्ट