रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम

रामेछाप । २०८० असोज ३ गते

संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्‍याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवस मूल आयोजक समितिको आयोजना, मन्थली नगरपालिकाको व्यवस्थापन तथा इन्सेक लगायतका विभिन्न नागरिक संस्थाहरू, शिक्षण संस्था, विभिन्न धार्मिक तथा पेसागत संस्थाहरू, व्यावसायिक संस्थाहरूको समन्वय तथा सहकार्यमा मन्थली माविको गेटबाट निस्किएको र्‍याली तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो ।

    

र्‍यालीमा विभिन्न जाती, धर्म र संस्कृति झल्कने पोसाक तथा झाँकी समेत प्रदर्शन गरिएको थियो । र्‍यालीमा राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, पेसाकर्मी, विद्यार्थी, नागरिक संस्थाका प्रतिनिधिहरू, अधिकारकर्मी सामाजिक अगुवाका साथै सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो । र्‍यालीपछि तीनलाल पार्कमा आयोजित कार्यक्रम प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँ, तारानारायण श्रेष्ठ, आनन्द श्रेष्ठ लगायतका जनप्रतिनिधिले नेपालको संविधानको विशेषताको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सहभागी भई संविधान दिवसको कार्यक्रम सफल बनाइदिएकोमा प्रमुख जिल्ला अधिकारी निरौलाले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सहभागीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

नवराज घिमिरे