लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सप्तरी । २०७८ फागुन २८ गते
बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार फागुन २७ गते जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमअन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका प्रधानाध्यापक कुशेश्वर मण्डलले लागु पदार्थ र बालविवाह कानुनी अपराध र सामाजिक रोग भएकाले यस्ता गैरकानुनी कार्यलाई रोक्न सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो ।
लागु पदार्थ नियन्त्रण र बालविवाह रोक्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने, बाल अधिकार र मानव अधिकारको संरक्षण हुने, समाजमा शान्ति सुव्यवस्था कायम हुने भएकाले बालबालिकाको सुनौलो भविष्यका लागि कानुनको शासनको सम्मान गर्नुपर्ने मण्डलले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका असई बिनोद खत्रीले लागु पदार्थ सेवनको असर, प्रभाव र रोकथामबारे सहजीकरण गर्नुहुँदै लागु पदार्थले मानसिक, शारीरिक, आर्थिक, पारिवारिक र सामुदायिक रूपमा असर पर्ने जानकारी दिनुभयो । असई खत्रीले समाजमा सबै उमेर समूहका मानिसहरु विविध कारणले लागु पदार्थ दुर्व्यसनमा फसेर आफ्नो जीवन, परिवार तथा समग्र समाज र राष्ट्रलाई नै गम्भीर असर पु¥याइरहेकोले यसको नियन्त्रणका लागि सबै जुटनु पर्ने बताउनु भयो ।
कक्षा १० का विद्यार्थी आनन्दकिशोर ठाकुरले बाल विवाह विरुद्धका अभियान प्रभावकारी हुन नसकेको र बालविवाह गराउन स्थानीय निकायका पदाधिकारी आफै संलग्न रहने गरेको गुनासो गर्नु भयो । कक्षा १० की ममताकुमारी साहले हाम्रो समाजमा विशेष गरी मधेशी समुदायमा दाइजोका कारण पनि वालविवाहको अन्त्य हुन नसकेको बताउनु भयो । उहाँले बालविवाहबाट बालबालिकाले पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट वञ्चित भइरहेको बताउनु भयो । बाल अधिकार चेतना समूहका उपाध्यक्ष पुष्पराज अमातले धार्मिक अन्धविश्वास, परम्परा, बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि वालविवाह जस्ता गैरकानुनी कार्यले प्रश्रय पाइरहेको बताउनु भयो ।
मनोहरकुमार पोखरेल