लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया सम्पन्न

सुर्खेत । २०७८ मङ्सिर २२ गते

इन्सेक कर्णाली प्रदेशको आयोजना तथा दलित महिला संघ र मानव अधिकार समूहको समनवयमा मङ्सिर २२ गते लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत वीरेनद्रनगर नगरपालिका–२ कोलडाँडामा आयोजित कार्यक्रममा महिला हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने सहभागीहरूले बताएकाछन् ।

कार्यक्रममा प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती विष्टले महिला हिंसा अन्त्यको लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘छोरा र छोरीबीचको विभेद अन्त्य नभएसम्म लैङ्गिक हिंसा अन्त्य गर्न सम्भव छैन’ उपसभामुख घर्तीले भन्नुभयो ‘लैङ्गिक हिंसा अन्त्यको लागि छोरालाई सम्पत्तिको मालिक बनाउने र छोरीलाई गतिलो शिक्षा नदिने परिपाटीको अन्त्य गरौं ।’ छोरालाई बोडिङ स्कूल र छोरीलाई सरकारी स्कूल पढाउने परिपाटीबाटै लैङ्गिक हिंसा सुरू भएको उहाँको भनाइ थियो ।

समाजमा व्याप्त रहेको सामाजिक अन्धविश्वास र बाल विवाहका कारण महिला हिंसाका घटना बढेको भन्दै उहाँले बाल विवाह न्यूनिकरणका लागि प्रदेश सरकारले बैंक खाता छोरीको जीवन सुरक्षा भरीको कार्यक्रम सुरू गरेको बताउनुभयो । कार्यक्रममा वीरेन्द्रनगर नपा–२ का अध्यक्ष बलबहादुर रोकायाले समाजमा बचत गर्ने बानी नहुनु र मदिरा सेवन गर्नु नै कारण महिला हिंसाको मुख्य कारण भएको दाबी गर्नु भयो ।

यस्तै भेरी नगरपालिका जाजरकोटका कार्यपालिका सदस्य पार्वती विकले  महिला हिंसा अन्त्यका लागि राज्यले लगानी गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले सबै मिलेर समाजमा भइरहेको हिंसा कम गर्नको लागि सबै सरोकारवालहरूले काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागि महिलाहरूले मदिराका कारण घरेलुहिंसा भइरहेको र मजदुरीमा जानुपर्ने कारणले अविभावकले सन्तानको उचित ख्यान नराख्दा कुलतमा फसेको तथा विद्यालय छोड्ने गरेको जस्ता समस्या राखेका थिए । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको अधयक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, महिला समूह, किशोरी तथा बाल क्लवमा रहेका व्यक्ति र स्थानीयको सहभागिता रहेको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत