लैङ्गिक हिंसाविरुद्धको अभियान : एक वडा एक महिला सम्मान

बाग्लुङ । २०७७ मङ्सिर २६ गते

 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्र्दभमा बागलुङको काठेखोला गाउँपालिकाका आठ जना महिलाहरुलाई सम्मान गरेको छ ।गाउँपालिकाका आठ वडामा एक जनाका दरले अति विपन्न तथा एकल आठ जना महिलाहरु छनौट गरी सम्मान गरिएको हो । काठेखोला गाउँपालिकाको आयोजना तथा काठेखोला गाउँपालिका स्तरीय महिला समन्वय समिति र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको समन्वयमा आठ जना महिलाहरुलाई मङ्सिर २५ गते सम्मान गरिएको हो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन आठ महिलालाई नगद र दोसल्ला सहित सम्मान गरिएको काठेखोला गाउँपालिका–८ का वडा अध्यक्ष तथा गाउँपालिका स्तरीय महिला समन्वय समितिका संयोजक चित्रा श्रीषले जानकारी दिनुभयो ।

प्रत्येक महिलालाई  पाँच हजार रुपियाँ नगद सहित दोसल्ला ओढाए सम्मान गरिएको थियो । वडा भित्र विपन्न र एकल महिला मध्येबाट छनौट गरी एक जनालाई सम्मानका लागि गाउँपालिकामा सिफारिस गरिएको हो । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले लैङ्गिक हिंसाविरुद्धको अभियान नारामा मात्र सिमित राख्न नहुँने भन्दै महिलाहरुलाई प्रोत्साहन गर्न नगद सहित सम्मान गरिएको बताउनुभयो । उहाँले सम्मान स्वरुप दिएको नगदको सदुपयोग गर्न आग्रह गर्नुभयो । सम्मानित हुनेमा काठेखोला गाउँपालिका वडा नम्वर १ बाट खिरमती सार्की, २ बाट तुलकुमारी पाध्या, ३ बाट भिमकुमारी बिक, ४ बाट नन्दकली थापा, ५ बाट जसमती बिक, ६ बाट अमृता कंडेल, ७ बाट माया थापा, ८ बाट फुलमाया बस्याल रहेको इन्सेक गाउँपालिकामा गठन गरेको मानव अधिकार निगरानी समूहकी संयोजक भेषकुमारी भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष विद्यापती शर्मा, काठेखोला गाउँपालिका शिक्षा अधिकृत रमा उचाई, वडा नम्बर ४ की महिला दलित सदस्य विष्णु परियारले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा गाउँपालिका स्तरीय महिला समन्वय समिति संयोजक चित्रा श्रीषको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सिर्जना पन्त