लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न

लमजुङ । २०७७ मङ्सिर २६ गते

 

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को  आयोजनामा जातीय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा गैरसरकारी महासङ्घ लमजुङका अध्यक्ष प्रेमबहादुर भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नेपालको तंथ्याङ्क अनुसार लैङ्गिक हिंसामा ८० प्रतिशत महिला पीडित भएको जानकारीँ गराउनुभयो । उहाँले लैङ्गिक हिंसा न्यूनीकरणको लागि स्थानीय सरकार प्रभावकारी ढङ्गबाट लाग्नुपर्ने सुझाव दिनुभयो ।

सचेतना मुलक अन्तरक्रिया कार्यक्रम, विचार, गोष्ठी र बैठक जस्ता कार्यक्रमहरुले लैङ्गिक हिंसा न्यूनीकरणमा थप टेवा पुग्ने उहाँको भनाइ थियो । छुवाछुत र भेदभावको अन्त आफैबाट गरे समाजमा परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गर्दै यस्ता कुराले समाजमा नकारात्मकता फैलाउने उहाँले बताउनुभयो । त्यस्तै जिल्ला प्रहरीकार्यलयका इन्स्पेक्टर गंगाबहादुर थापाले लैङ्गिक हिंसा हुन नदिन प्रहरी प्रशासन सधैं चनाखो रहने  बताउनुभयो । उहाँले लैङ्गिक हिंसामापनि महिला हिंसाका सवालमा प्रहरी प्रशासन बढी सम्वेदनशिल रहेको भनाइ राख्नुभयो । कोभिड–१९ को अवधिमा ९० प्रतिशत घटनाहरुमा महिला पीडित भएको र त्यस मध्ये ६० प्रतिशत दलित महिला पीडित रहेको जिल्लाको तथ्याङ्कले जनाएको छ ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले कोभिड १९ ले महिलालाई हिंसामा परेको जनाएका छन् । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, प्रहरी प्रशासन, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । किसान संगीत नेपालीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम महिला अधिकारकर्मी तथा सञ्चारकर्मी कमला केसीको अध्यक्षमा सम्पन्न भएको थियो ।

दलबहादुर मजाकोटी