लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न
स्याङ्जा । २०७७ मङ्सिर १७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले गठन गरेको मानव अधिकार समूह र सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको आयोजनामा लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर १५ गते स्याङ्जाको पुतलीबजार नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाका अध्यक्ष ढोबबहादुर कार्कीले कार्यक्रममा महिलाहरूले समाजको अगुवाई गर्ने अगुवा र महिलाहरूको काम गर्ने क्षमता पुरूषहरूको तुलनामा बढी प्रभावकारी रहेको कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हिंसा रहित घर र समाज निर्माणकार्य महिलाको सक्रियतामा हुन्छ, हिजोको समय र परिस्थिति भन्दा अहिलेको समय केही भिन्न देखेको छु । साथै सामाजिक मुल्य र मान्यतामा पनि सुधार आएको छ ।’ स्याङ्जा जिल्ला सहजकर्ता सिर्जना थापाले इन्सेकका कार्यक्रममा तथा गतिविधिहरूका बारेमा बोल्दै हिंसा रहित समाज निर्माणका लागि सबैजना सचेत हुनुपर्ने कुरा बताउनुभयो साथै घर भित्र नै हिंसाहरू रोक्न सकियो भने समाज हिंसा रहित हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिलकुमारी थापाले केही हिंसाहरू कठित त छन् नै तर नभनिएका हिंसाहरू अझै पनि व्यक्ति घर र समुदायमा अझैसम्म पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हिंसा न्यूनीकरण गर्न सबै सचेत हुनुपर्छ, सबल हुनुपर्छ ।’ कार्यक्रमकी सहभागी सरस्वती सुवेदीले हिंसाका विषयमा हामी सबैले एक अर्कालाई सहयोग र सहकार्य गर्दै अगाडि बढ्न सके समाज साँच्चै सुन्दर हुने धारणा राख्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाका अध्यक्ष ढोबबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ३४ जनाको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन आधिखोला गाउँपालिकाकी प्रवक्ता सीता नेपालीले गर्नुभएको थियो।
तिलकुमारी थापा
HUMAN RIGHTS NEWS PORTAL









