लैङ्गिक हिंसा विरुद्धको कानुनी सचेतना कार्यक्रम सम्पन्न

जुम्ला । २०८० कात्तिक १९ गते

तातोपानी गाउँपालिका – २ जर्मीगाउँमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम कात्तिक १९ गते सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार रक्षक सञ्जाल, जुम्लाको आयोजना तथा २ नम्बर वडापालिकाको समन्वयमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम गरिएको हो । लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रमको सहजीकरण वरिष्ठ अधिवक्ता देवेन्द्र शर्माले गर्नु भएको हो । समाजमा लिङ्गका आधारमा गरिने भेदभावलाई निरुत्साहित गर्नका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनु भयो ।  मानव वृत्ति विकासमा प्रत्यक्ष असर पर्ने गरेको छ । यस्तो कार्यक्रमले समुदायका नागरिक कानुनी रुपमा सचेत हुने भएको तातोपानी गाउँपालिका – २ की रोशनी रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो अहिले पनि धेरै अशिक्षित महिला छन् । हिंसामा परेपछि कहाँ जाने के गर्ने भन्ने जानकारी हुदैन । सामान्य तह हिंसामा परेपछि प्रहरीमा जाने भन्ने जानकारी भएपनि मुद्दा मामिलाका कुरा थाहाँ हुदैनन् । जसका कारण न्याय प्राप्त गर्न असहज भएको हुन्छ ।

 

लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रममा सहजीकरण गर्दै वरिष्ठ अधिवक्ता शर्माले भन्नुभयो कानुनको पालन सवै नागरिकले गर्नु पर्दछ । समाजमा अहिले धेरै किसिमका हुने गरेको पाइन्छ । जस मध्ये लिंगामा आधारमा गरिने भेदभाव लैङ्गिक हिंसा हो । हिंसाका प्रकृति धेरै प्रकारका रहेका छन् । बालविवाह, बलात्कार, यौनजन्य दुव्र्यवहार, बालविवाह, घरेलु हिंसा, बहुविवाह, दाइजो हिंसा, गाली बेजती, बोक्सी आरोप, मानव बेचबिखन तथा ओसारपसार यी सबै हिंसा हुन् । अधिवक्ता शर्माले भन्नुभयो यि सबै कानुनले बर्जित गरेका हिंसात्मक गतिविधि हुन् । यस्ता गतिविधि गर्नेलाई कानुनी सजाय हुने व्यवस्था रहेको छ । जिल्लामा निशुल्क कानुनी सहायता दिने वैतनिक वकिलको पनि व्यवस्था गरेको हुन्छ । राज्यले सेवासुविधा दिएर वैतनिक वकिल एक जना जिल्ला अदालत र एक जना उच्च अदालतमा व्यवस्था गरेको छ । अधिवक्ता शर्माले भन्नुभयो उहाँहरु वकिलबाट निशुल्क कानुनी सहायता पाइन्छ ।

मानदत्त रावल