ल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण

सप्तरी । २०८० कात्तिक १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विद्यालयमा कात्तिक १३ गते बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अरूणकुमार साहको अध्यक्षतामा २६ सदस्यीय बाल अधिकार सचेतना समूह पुनर्गठन भएको संरक्षक शिक्षक मनोजकुमार चौधरीले जानकारी दिनुभएको छ । पुनर्गठित समूहको उपाध्यक्षमा मनीषाकुमारी रजक, सचिवमा श्यामकुमार राउत, सहसचिवमा श्रृष्टिकुमारी साह र कोषाध्यक्षमा रोशनकुमार राउत चयन हुनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष कुञ्जीलाल चौधरीले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउने पहल भइरहेको बताउनु भयो । उहाँले समयमा पाठ्यपुस्तक उपलब्ध गराइने, विद्यालयको शैक्षिक वातावरण राम्रो बनाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्रप्रसाद माझीले विद्यालयमा शैक्षिक वातावरण र बालमैत्री कक्षा कोठामा शिक्षा प्रदान भइरहेको जानकारी दिनु भयो । उहाँले आगामी दिनमा विद्यालयमा थप दक्ष शिक्षक र राम्रो वातावरणमा अध्यापन गराइने योजना सुनाउनु भयो । कार्यक्रममा डाक्नेश्वरी नगरपालिका स्तरिय मानव अधिकार समूहका सदस्य मुसा अन्सारीले बाल अधिकार, बालबालिकाको शिक्षाको अधिकार, स्वास्थ्य, वातावरण, विभेदिकरण जस्ता विषयमा आफ्नो भनाई राख्नु भयो । संरक्षक शिक्षक मनोजकुमार चौधरीले–“बालबालिकाहरूले कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन पक्षमा छलफल मात्र नगरी विद्यालयको रचनात्मक, शैक्षिक गतिविधिमा समेत सक्रियता बढाउनु पर्ने बताउनु भयो । विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागिता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, शैक्षिक वातावरणमा सकारात्मक सहयोग गर्ने बारेमा बाल अधिकार सचेतना समूहका पदाधिकारीलाई सप्तरी जिल्ला सहजकर्ता अजय परियारले सहजिकरण गर्नु भएको थियो ।

मनोहरकुमार पोखरेल