








सप्तरी । २०७८ चैत २ गते
बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार चैत १ गते सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहको कार्य योजनाअनुसार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्तिले राष्ट्रको असल नागरिक भएर स्वास्थ्य, शिक्षा, समाजसेवा, राजनीति, उद्योग, वाणिज्य आदि क्षेत्रमा देश विकासमा महत्वपूर्ण योगदान दिइरहेको बताउनु भयो ।
अनुशासन मानवजातिको सर्वोत्तम गुण भएकाले त्यस्ता व्यक्तिलाई सबैले मन पराउने र अनुशासित व्यक्ति नै आदर्श आचरणको योग्य बन्ने पोखरेलले बताउनु भयो । जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका प्रधानाध्यापक कुशेश्वर मण्डलले अनुशासनको पालना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्ने बताउनु भयो । घरपरिवारदेखि समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन कायम रहेमा असल संसार बन्ने उहाँले बताउनु भयो । प्रतियोगितामा पुष्पराज अमात पहिलो, आनन्द ठाकुर दोस्रो, प्रकाशकुमार मण्डल तेस्रो र रोशनकुमार मण्डल सान्तवना पुरस्कार प्राप्त गर्नु भएको चेतना समूहले जनाएको छ । विजेताहरूलाई प्रमुख अतिथि पोखरेल, प्रधानाध्यापक मण्डल, वडा सदस्य रामकुमार राय र शिक्षक सरोज चौधरीले डिक्शनरी, व्याकरण, कम्प्युटरका पुस्तकहरू वितरण गर्नुभयो ।
अनलाइन डेस्क