वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
कपिलवस्तु । २०७९ फागुन ३० गते
इन्सेक कपिलवस्तु र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा मायाँदेवी गाउँपालिकाको समन्वयमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी फागुन २८ गते मायाँदेवी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा मायाँदेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले वातावरणको सङ्रक्षण गर्न सबै सरोकारवालाहरूको एकबद्ध हुन आवश्यक भएको बताउनु भयो । मुसलमानले गाउँपालिकालाई सौन्दर्य र समृद्ध बनाउन निती बनाएर कार्यहरु सञ्चालन गर्ने शैक्षिक क्षेत्रका समस्याहरूलाई समाधान गर्न विद्यालयहरूमा अनुगमन गरी आवश्यकता अनुसार समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वरप्रसाद यादवले गाउँपालिका सौन्दर्यीकरण गर्न वातावरण निती तथा कार्यविधि बनाउने र सोही नितीमा रहेर कार्यहरू गर्ने बताउनु भयो ।
कार्यक्रमा वडा नं. १ का वडा अध्यक्ष ईसाहक अहम्मद मुसलमानले वातावरणको क्षेत्रमा कुनै पनि कार्यहरु नहुनु दुखको कुरा भएको बताउनु भयो । खुलादिशा मुक्त घोषणा पश्चात कार्यान्वयन नहुँदा कागजमा मात्र सिमित भएको बताउँदै उहाँले सोंचे अनुसार उल्लेखनिय कार्य नभएको बताउनु भयो । यस्तै वडा नं. ५ का वडा अध्यक्ष तथा सामाजिक बिकस संयोजक राघवेन्द्र प्रसाद पाण्डेयले भौतिक बिकास पुर्वाधार तर्फ सबैको ध्यान गएको तर वातावरणको अधिकारमा कसैको ध्यान जान नसकेको बताउनु भयो । कार्यक्रममा बाल अधिकार समूह प्रदेश अध्यक्ष राजकुमार धोवी , लक्ष्मी युवा क्लवका अध्यक्ष जगदिश यादव लगायतले फोहोर व्यवस्थापनका लागि बजेटलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राख्नु भएको थियो ।
पार्वती आचार्य