








सप्तरी । २०८० असार २६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा असार २५ गते वातावरणीय अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नगर प्रमुख रामलखन मलाहाले बालबालिकाको चौतर्फी विकाससँगै शिक्षा, स्वास्थ्य, सरसफाईका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । वातावरण क्षयीकरणको कारण बहुक्षेत्रीय प्रभावको सामना गरिरहनु परेको भन्नुहुँदै उहाँले वातावरणीय संरक्षण, बचाउ र सुधारका लागि एकजुट हुनुपर्ने बताउनु भयो । स्वच्छ समाजका लागि घर स्वच्छ बनाउनु अनिवार्य शर्त रहेको भन्नुहुँदै नगर प्रमख मलाहाले एक घर एक वृक्षको नीति अबलम्बन गरिने बताउनु भयो । उहाँले विकासलाई वातावरणमैत्री र मानव अधिकारमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । विधालय अनुगमन गर्नेक्रममा विद्यालयको अन्य सुधारको पक्षसँगै सरसफाई राख्न निर्देशन दिएको बताउनु भएका प्रमुख मलाहाले विभिन्न तालिममा सिकेका सीप, ज्ञानको सदुपयोग गर्न आह्वान गर्नुभयो । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले वातावरणीय समस्याका कारण नागरिकको जीवन, मर्यादा तथा सम्मानमा जोखिम उत्पन्न भइरहेको बताउनु भयो । स्वच्छ वातावरणमा बाँच्नपाउने अधिकारको सुनिश्चितता गर्न तथा वातावरण र विकासलाई सन्तुलित रूपमा अगाडि बढाउन उहाँले माँग गर्नुभयो ।
त्यस अघि कार्यक्रमका सहभागीहरूले वातावरणीय समस्या, चुनौति र समाधानका लागि समूहगत छलफल गरी नगरपालिकासँग विभिन्न माँग प्रस्तुत गरे । समूहको तर्फबाट डाक्नेश्वरी नगरपालिका–७ स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरकी १० अध्ययनरत चाँदनीकुमारी मण्डल, महादेव मण्डल, जयनारायण शर्मा र डाक्नेश्वरी नगरपालिका–१० स्थित हिरा फेकनी माध्यमिक विद्यालय बनौलाका कक्षा ९ अध्ययनरत श्यामकुमार राउतले समस्या समाधानका पक्षहरू बारे ध्यानकर्षण गराउनु भयो । उक्त विद्यालयमा गठन गरिएको बालअधिकार सचेतना समूहका पदाधिकारी समेत रहनु भएका उहाँहरूले चेतनामूलक कार्यक्रमसँगै व्यवस्थित नाला, सफा पोखरी, खुला शौचालयमा रोक, डस्टबिनको व्यवस्था, कुहिने र नकुहिने फोहरको अलग व्यवस्थापन, खानेपानी र शौचालयको व्यवस्था, पुराना गाडी र मरेका जिवजन्तुको उचित व्यवस्थापन, अनुमतिप्राप्त पसल, योजनाबद्ध घर निर्माण, रसायनिक मलको साटो गुणस्तरिय प्राङ्गारिक मलखाधको प्रयोग र वृक्षारोपणमा जोड दिनुभयो । नगरपालिकाका जनप्रतिनिधिहरू, शाखा प्रमुखहरू सहभागी गोष्ठीमा मानव अधिकार शिक्षाकार्यक्रमका फोकल पर्सन बरुण बस्यालले सहजिकरण गर्नुभएको थियो ।
मनोहरकुमार पोखरेल