वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
धनुषा । २०८० असोज ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित वातावरणीय मानवअधिकार रक्षक सञ्जाल, मधेस प्रदेशका संयोजक धिरेन्द्र कुमार शाहको अध्यक्षतामा ०८० असोज २८ गते जनकपुरधाममा बैठक सम्पन्न गरिएको छ । इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले वातावरणसँग संरक्षण गर्ने जिम्मेवारी सरकारको हुने र नागरिकहरुले उक्त अधिकार प्रचलनमा ल्याउन तिनै तहका सरकारलाई जिम्मेवार बनाउन नागरिक समाजले ध्यानाकर्षण, खबरदारी र दायित्वबोध गर्नुपर्ने बताउँनु भयो । वातावरणीय सचेतना आजको आवश्यकता रहेकोले समुदाय स्तरमा सचेतना फैलाएर वातावरणीय प्रदुषणका समस्याहरूलाई समाधान गर्ने तर्फ सञ्जालले कार्ययोजना बनाउन आवश्यक रहेको उहाँले बताउँनु भयो ।
वातावरणीय मानव अधिकार रक्षक सञ्जालका संयोजक धिरेन्द्र साहले वातावरण सम्बन्धी अधिकार र कानुन बारे आम नागरिकलाई जानकारी दिलाउने र ती अधिकार र कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व राज्य भएको बताउनु भयो । उहाँले वातावरणीय समस्या साझा भएकोले स्थानीय समुदायमा सचेतना फैलाउनु पर्ने र अधिकार प्राप्तिका लागि लिखित मागदाबी गर्नुपर्ने बताउनु भयो । बैठकमा वातावरण अधिकार सम्बन्धी सचेतना तथा वकालत गर्ने, वातावरण प्रदुषण र फोहोर व्यवस्थापनका लागि स्थानीय तहमा भेटघाट र मागदावी गर्ने, जिल्लागत अन्तरक्रिया कार्यक्रम गर्ने कार्यतर्फ संजालले योजना बनाउनु पर्ने कमला बचाउ अभियानि बिनोद महराले बताउनु भयो । वातावरणीय हक अधिकार, जलवायु परिर्वतनको समस्या र यसको मानव जीवनमा पर्ने असरका विषयमा इन्सेक मधेस प्रदेशका सहायक अधिकृत बरुण बस्यालले सहजीकरण गर्नु भयो। उक्त बैठकमा वातावरण संरक्षणको क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाका प्रतिनिधि र सरसफाई अभियान्ता लगायतको उपस्थिति रहेका थिए।
सन्तोष कुमार यादब