वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
कैलाली । २०८० चैत १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको सहयोग तथा घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी ०८० फागुन ३० गते साडेपानीमा सम्पन्न भएको छ । घोडाघोडी नगरपालिकाका कार्यपालिका सदस्य मानबहादुर चौधरीले स्थानीयहरुले बाटोमा पशुचौपाय बाँध्ने गरेको कारण दुर्घटनाको जोखिम बढ्नुको साथै फोहोर व्यवस्थापनमा चुनौती थपिएको र सडक निर्माण कम्पनीले निर्माणाधीन सडकमा पानी नछर्कीदा धुलोधुवाले वातावरण प्रदूषित भएकोे बताउनु भयो । मानव अधिकार समूहका अध्यक्ष आशा परियारले घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित दिनेश राइस मिलबाट उत्सर्जन हुने फोहोर खोलामा मिसाउदा वातावरण दुर्गन्धीत भएकाले नगरपालिकाको ध्यानाकर्षण गराउन आवश्यक भएको बताउनु भयो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष निसा सन्ज्यालले बालबालिकाहरु अतिरिक्त कक्षाका लागि बिहान स्कुल आउँदा सडकका पोलमा बत्ती नभएका कारण विद्यार्थीहरुको सुरक्षाको चुनौती बढेको बताउनु भयो । स्थानीय जमुना कडेलले घोडाघोडी नगरपालिका–२ को शाहीपुरमा स्थानीयहरुले शौचालयको फोहोर खुल्ला रुपमा विसर्जन गर्दा वरिपरी दुर्गन्धीत भएकाले यसको व्यवस्थापनका लागि स्थानीय तहसँग पहल गरी दिन मानव अधिकार समूहलाई आग्रह गर्नु भयो । कार्यक्रममा घोडाघोडी नगरपालिकाका जनप्रतिनिधीहरु, मानव अधिकार समूूहका पदाधिकारी, बाल अधिकर चेतना समूहका पदाधिकारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी