विद्यार्थीद्वारा मानव अधिकार सूचना तथा स्रोत केन्द्रको अवलोकन
सुर्खेत । २०८१ साउन २३ गते
वीरेन्द्रनगर नगरपालिका–७ स्थित श्री संस्कृत तथा साधारण माध्यामिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले ०८१ साउन २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशद्वारा स्थापना गरिएको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले इन्सेकको परिचय, इन्सेक अभियान, द्वन्द्वमा इन्सेकले खेलेको भूमिका, सङ्क्रमणकालीन न्याय लगायतका विषयमा जानकारी गराउनुभएको थियो । विद्यार्थीहरूले मानव अधिकार सूचना तथा स्रोत केन्द्र, मानव अधिकार सहायता कक्ष, मानव अधिकार वर्ष पुस्तक, प्राची, इन्सेक अभियान, स्थिति सूचक लगायत इन्सेकका प्रकाशनहरूको अध्ययन अवलोकन गरेका थिए ।
अवलोकनमा आएका विद्यार्थीहरूले वर्ष पुस्तक लगायत अन्य प्रकाशनहरू आफ्नो विद्यालयको पुस्तकालयमा राख्ने प्रतिबद्धता समेत गरेका छन् । विद्यार्थीहरूले अवलोकनबाट नेपालमा मानव अधिकारको अवस्था र इन्सेकले उठाएका मुद्दाहरूको विषयमा आफूहरूलाई जानकारी भएको बताएका छन् ।
अवलोकनमा पाँच जना छात्र र तीन छात्रा गरी आठ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई इन्सेकका जिल्ला प्रतिनिधि, जिल्ला सहजकर्ता ललिता विश्वकर्मा लगायतको टिमले कार्यालयको अवलोकन गराएका थिए ।
जगतदल जनाला विक