विद्यालय सञ्चालन गर्न सरोकारवालाको जोड

सल्यान । २०७७ असोज २६ गते

 

कोभिड–१९ का कारण अधिकांश विद्यालयमा क्वारेण्टिन र आइसोलेशन निर्माण भएकाले वैकल्पिक व्यवस्था अपनाएर भएपनि शिक्षालाई निरन्तरता दिनुपर्ने सल्यानका सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेकले असोज २४ गते शारदा नगरपालिकामा आयोजना गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले मौलिक हकमा व्यवस्था गरेको भएपनि नागरिकलाई अधिकारको प्रत्याभूती हुने गरी उपभोग गर्न नपाएको गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै शारदा नपाका उप प्रमुख तथा न्यायिक समितीका संयोजक सावित्रा बस्नेतले शिक्षा क्षेत्रको सुधारका लागि सबै सरोकारवालाहरूको सहयोग र सहकार्यको आवश्यकता रहेको बताउनु भयो । उपप्रमुख बस्नेतले वैकल्पिक रुपमा शैक्षिक क्रियाकलाप अगाडी बढाउनको लागि सरोकारवाला सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।

यस्तै नगर शिक्षा स्रोत व्यक्ति बिरबहादुर सेजवालले अहिलेको परिवेशमा शैक्षिक क्रियाकलाप कसरी अगाडी बढाउनेबारे शिक्षकहरु समेत अनविज्ञ रहेको बताउनु भयो । उहाँले यस्तो विषम परिस्थितीमा शैक्षिक गतिविधी अगाडी बढाउने योजना नबनेको कारण शिक्षा क्षेत्रको सुधार गर्न शिक्षक आफैले शुरुवात गर्न सकेमात्र सम्भव हुने बताउनु भयो । कार्यक्रममा इजीआरपीका कार्यक्रम संयोजक पुरुषोत्तम गिरीले शिक्षा क्षेत्रमा राज्यको दायित्व र हाम्रो अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । इएलपी परियोजनाका सल्यान सहजकर्ता रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नु भएको थियो ।

मिना बुढाथोकी