विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को पूर्व सत्रका लागि पैरवी तालिम सुरू

काठमाडौँ । २०७७ असोज २६ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगले असोज २६ गतेदेखि काठमाडौँमा विश्वव्यापी आवधिक समीक्षको पूर्व सत्र तथा नागरिक समाजका प्रतिनिधिहरूलाई तीन दिने पैरवी तालिम सुरू गरेको छ । तालिमको उद्घाटनका अवसरमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले तालिमको प्रक्रियाका बारेमा जानकारी गराउनु भयो । उहाँले यसअघि सातै प्रदेशमा परामर्श कार्यक्रम गरी त्यसबाट प्राप्त सुझावलाई नेपाल सरकारसमक्ष प्रदान गरिएको पनि बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका निर्देशक यज्ञ अधिकारीले अन्तर्राष्ट्रिय समुदायले विकाससम्बन्धी सुझाव धेरै दिएको र त्यस्ता सुझाव गरिबीसँग जोडिएको बताउनु भयो । युएनडिपीका टेक टमाटाले युपीआर रिपोर्टसँगै दिगो विकासलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । उहाँले दिगो विकासका १७ ओटै लक्ष्यलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भयो । काठमाडौँ स्कुल अफ ल का उपप्राध्यापक कपिल अर्यालले युपीआरका लागि गैरसरकारी संस्थाहरूका विभिन्न सञ्जालका सदस्यबाट आएका सुझावलाई समेटेर बनाएको प्रतिवेदनलाई संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषदमा पेस गरिसकेको बताउनु भयो ।

अनलाइन डेस्क