








ललितपुर । २०७९ भदौ ७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जेनेभास्थित गैरसरकारी संस्था युपिआर इन्फोको संयुक्त आयोजनामा भदौ ७ गते ललितपुरमा विश्वव्यापी आवधिक समीक्षा (युपिआर) मा नेपालले स्वीकार गरेका सुझाव कार्यान्वयन तथा प्रक्रिया अनुगमन योजना तर्जुमा कार्यशाला नेपालका नागरिक संस्था, राष्ट्रिय मानाव अधिकार आयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमका प्रतिनिधिहरूबिच सुरु भएको छ । कार्यशालाको सुरुआत गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले युपिआरमा नेपाल सरकारले स्वीकार गरेका सुझावको कार्यान्वयन गर्न र प्रक्रियाको अनुगमन गर्न कार्यशालाले नागरिक संस्थाहरुको सहकार्य र क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बताउनु भयो । कार्यशालाको कार्यक्रम तालिका प्रस्तुत गर्दै कार्यकारी निर्देशक गौतमले सक्रियतापुर्वक सहभागी हुन तथा उपयोगी अनुगमन योजना तर्जुमाका लागि सम्पूर्ण सहभागीहरुमा आग्रह गर्नु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव मञ्जु खतिवडाले युपिआरमा नेपालले प्राप्त गर्ने सुझावहरु दोहोरिनुले कार्यान्वनको अवस्थामा रहेको कमजोरी प्रस्तुत गरेको बताउनु भयो । कार्यन्वयनको अवस्थामा परिवर्तन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन र सहकार्यका व्यवस्थित योजना तर्जुमा गरेको उपसचिव खतिवडाले बताउनु भयो । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमका प्रतिनिधि टेक टमाटाले नागरिक संस्थाहरुले मानव अधिकारसम्बन्धी तथ्य, तथ्याङ्क सङ्कलनलाई व्यवस्थित गरी युपिआर प्रतिवेदनमा प्रस्तुत गरिने सरोकारलाइ सम्बृद्ध तथा तथ्यपरक बनाउनु पर्ने बताउनु भयो । युपिआरको प्रक्रियामार्फत समग्र मानव अधिकार कार्यान्वयनको अवस्था सुधार गर्न नेपाल सरकार, राष्ट्रिय मानव अधिकार संस्थाहरु र नागरिक संस्थाहरुबिच पारस्पारिक संवाद सुदृढ गर्न टमाटाले सुझाव दिनु भयो ।
कार्यशालामा युपिआर इन्फोका प्रतिनिधि नगरिज अरुपोभाले युपिआरको प्रक्रियामा नागरिक संस्थाहरुले अन्तराष्ट्रिय तहमा प्रस्तुत गर्ने आलोचनात्मक प्रतिक्रिया तथा सुझावहरुले सदस्य राष्ट्रहरुले समिक्षामार्फत प्राप्त गर्ने सुझावमा महत्वपुर्ण भूमिका राख्ने बताउनु भयो । युपिआरमा प्राप्त सुझाव कार्यन्वयन गर्न प्रत्येक मुलुकका नागरिक संस्थाहरुको भूमिकापनि महत्वपूर्ण हुने हुनाले प्रक्रियामा निरन्तर सहभागी हुन नागरिक संस्थाका प्रतिनिधिलाइ अरुपोभाले जोड दिनुभयो । दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा युपिआरका लागि सामाजिक संस्थाको सञ्जालका ५० जना सहभागी रहेका छन् ।