विष्णुपुरमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

सिरहा । २०७८ असार २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार २२ गते विष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयमा अभिभावक, शिक्षक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष गोपि यादवले गाउँपालिकाले शिक्षा, स्वास्थय र कृषि क्षेत्रमा बजेट कम विनियोजन गरेकाले चाहेर पनि शिक्षा र कृषिमा सुधार गर्न नसकेको बताउनु भयो । वडा कार्यालयले अगामी वर्षको कार्य योजनामा कृषिमा आत्मनिर्भर गराउन सिंचाईमा आत्मनिर्भर बनाउने र कृषि मिटरको युनिटमा उठेको रकम वडा कार्यालयले बुझाइदिने योजना रहेको बताउनु भयो ।

कृषि शाखाका संयोजक शिवशङ्कर यादवले नेपाल कृषिप्रधान देश भएपनि कृषिमा आत्मनिर्भर हुन नसकेको बताउनु भयो । गाउँपालिकाले कृषिमा १५ लाख रुपियाँ बजेट विनियोजन गर्दा सबै कृषकहरूको माग पुरा गर्न नसकिएको उहाँले बताउनु भयो । शिक्षा शाखाकी मञ्जु साहले विद्यालयहरूमा दिवा खाजाको लागि प्रत्येक विद्यार्थी बापत १५ रुपियाँक दरले रकम निकासा गरिएको बताउनु भयो ।

राजपुर माविका प्रधानाध्यापक शत्रुधन यादवले मानव अधिकारभित्र शिक्षा, स्वास्थ्य, कृषि, खाद्य अधिकार पर्ने भएकाले गाउँपालिकाले मानव अधिकारको प्रत्याभूति गराउन यि अधिकारहरूको सुनिश्चितता गर्नु पर्नेमा जोड दिनु भयो । दिवा खाजाको लागि दिएको १५ रुपियाँले पोषिलो खाजा खुवाउन समस्या भएको उहाँले बताउनु भयो । जनता मावि गौरिपुरका प्रधानाध्यापक प्रहलाद यादवले विद्यार्थीहरूलाई जङ्कफुडको बानी लागेकोले विद्यालयले प्रदान गर्ने पोषिलो खाजा खान रुचि नगर्ने र नुनिलो पीरो खाजा दिँदा खान रुचाउने गरेको बताउनु भयो । सञ्चारकर्मी अनिरुद्ध ठाकुरले इन्सेकले समुदायलाई सचेत बनाएर सरोकारवाला निकायलाई जिम्मेबार बनाउन मद्दत गरेको बताउनु भयो ।

दुर्गा परियार