शान्तिसुरक्षा र मानव अधिकार रक्षकहरुको अवस्था बारे छलफल सम्पन्न

कञ्चनपुर । २०७८ चैत २९ गते

इन्सेक र इयु वर्किङ गुर्प सम्मेलित टोलीले जिल्लाको मानव अधिकार रक्षकहरुको अवस्था र शान्तिसुरक्षा स्थिति सम्बन्धमा जानकारी लिने उद्धेश्यले प्रमुख जिल्ला अधिकारी रामप्रसार पाण्डेय र जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीसँग चैत २९ गते भेटघाट गरी छलफल गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेयले वर्तमान अवस्थामा मानव अधिकार रक्षकहरुमाथि कुनै प्रकार असुरक्ष नभएको बताउनु भयो । उहाँले खुला सिमानाका कारण आपराधिक गतिविधिहरु नियन्त्रण गर्न समस्या भएको बताउँदै मुक्त कमैया, मुक्त हलिया, विस्थापितहरु पुनस्र्थापना, ऐलानी जग्गाको व्यवस्थापन जस्ता समस्या जिल्लाका वर्तमान चुनौतीका रुपमा रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले कानुनले दिएको निर्देशन अनुसार प्रहरीले पीडित पक्षबाट आएका जाहेरीहरु सजिलैसँग दर्ता गरिरहेको र राजनीतिक दबावबाट उजुरीहरु प्राप्त भएको अवस्थामा त्यस्ता घटनाहरुलाई थप संवेदनशिल भएर अनुसन्धान गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘केही घटनाहरु आपसी सहमतिमा स्थानीय स्तरमा मिलापत्र गरिने भएकोले जिल्ला प्रहरी कार्यालयमा सबै घटनाहरु आउँदैनन् । जिल्ला प्रहरी कार्यालयमा आउने घटनाहरुमा घटनाको प्रकृति हेरेर दुबै पक्षलाई सहभागि गरेर आपसी छलफल गराउछौँ । मेलमिलाप गर्न मिल्ले घटनाहरुमा दुबै पक्षको सहमति गरेर मिलापत्र गरिएको छ । मिलापत्र गराउन नमिल्ने घटनाहरुलाई कानुनी प्रक्रियामा अगाडि बढाएका छौँ ।’ मानव अधिकार रक्षकहरुको संरक्षणका लागि गृहमन्त्रालयले जारी गरेको निर्देशिका सम्बन्धमा आफूलाई जानकारी नभएकोले सो निर्देशिका अध्ययन गरी मातहतका कार्यालयहरुसँग छलफल गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनु भयो । भेटघाट तथा छलफल कार्याक्रमका दौराहनमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रमुख जिल्ला अधिकारी पाण्डेय र  जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।

 

लिली कुँवर