शिक्षाको अधिकारका सवालमा अन्तरक्रिया
झापा । २०७८ मङ्सिर २७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजना तथा नगरपलिकास्तरीय मानव अधिकार समूह अर्जुनधाराको समन्वयमा शिक्षाको अधिकारका सम्वन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम मङ्सिर २६ गते सम्पन्न गरिएको छ । अन्तरक्रियामा मानव अधिकार समूह अर्जुनधाराले समस्या, पहिचान गरी अर्जुनधारा नगरपालिकाका प्रमुख हिरकुमार रानासमक्ष २० बुँदा समेटिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । समूहका अध्यक्ष चन्द्र सुवेदीले प्रस्तुत गरेकोे कार्यपत्रमा शिक्षाको समस्या र सुझावसहितको बुँदा उल्लेख गर्दै समाधानका निमित्त नगरपालिकालाई आग्रह गर्नु भयो ।
मेयर हरिकुमार रानाले कार्यपत्रमा उल्लेख भएका समस्याहरूलाई समाधान गर्न सक्ने आफैँले गर्ने र नसकेको गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । नगरपालिकाले भौतिक निर्माणमा बजेट विनियोजन गरेको कारण शिक्षाका सवालमा सोचे अनुसार कार्य सम्पादन गर्न नसकिएको मेयर रानाले बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकार समूहमार्फत उठाएका सवाललाई नगरपालिकाले सम्बोधन गर्ने बताउनु भयो । मेयरले रानाले शिक्षाको सवालमा मानव अधिकार समूहले उठाएको सवाललाई सम्बोधन गर्दै विद्यालयमा सामाजिक लेखापरीक्षण गर्न लगाउने र कक्षा पाँचसम्मका विद्यार्थीलाई पोशाक दिने प्रक्रियाको थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अर्जुनधारा नगरपालिका‒७ का वडाध्यक्ष नवराम ढुङ्गानाले इन्सेकले नगरपालिकालाई सचेत गराएकोले पहिचान भएका समस्याको कार्यन्वयन गर्ने बताउनु भयो । शिक्षा शाखाकी प्रतिनिधि सुनिता भट्टराईले मानवअधिकार समुहले तयार पारेको सुझाव नगरपालिकासँग सहकार्य गरेर कार्यन्वयन गर्ने बताउनु भयो । अभिभावक रमेश समदर्शीले सार्वजनिक विद्यालयले सहयोगका नाममा शुल्क उठाएको गुनासो गर्नुभयो । विद्यार्थी रोजिना परियारले निजी विद्यालयले छात्रवृत्ति नदिएको गुनासो गर्नु भएको थियो ।
नरेश खाती