








धनुषा । ०७८ असोज २२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा असोज २२ गते मिथिला नगरपालिकामा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्री जनतामा मावि, नक्टाझीजमा इन्सेकले गठन गरेको बाल अधिकार सचेतना समूहका अध्यक्ष दिवेशकुमार महतोले निःशुल्क शिक्षा पाउने विद्यार्थीहरुको अधिकार भएकाले कोरोनाको समयमा विद्यार्थीहरु शिक्षाको अधिकारबाट वञ्चित रहेको र हाल विद्यालय सञ्चालनमा आएपछि नयाँ विद्यार्थीको भर्नासँगै विद्यालयमा विद्यार्थीहरुको चाप बढेको साथै कक्षा कोठाको अभाव रहेको भन्दै शिक्षा शाखा प्रमुखको ध्यानाकर्षण गराउनु भयो । उहाँले आफ्नो विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकहरुको सङ्ख्या कम रहेका कारण गुणस्तरीय शिक्षामा समस्या परेको बताउनु भयो ।
दुई वर्ष अघिदेखि आफ्नो विद्यालयमा शिक्षक दरबन्दी रिक्त रहेको, विद्यालयमा शुद्ध खानेपानीको अभाव रहेको, विद्यार्थी सङ्ख्या धेरै भएका कारण जोर र बिजोर प्रणालीबाट विद्यालय सञ्चालन हुँदा सार्वजनिक विदा पर्ने दिनका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुने गरेकाले एकै विद्यालयका विद्यार्थीहरुको शिक्षामा असमानता रहेको जानकारी गराउनु भयो । त्यस्तै बाल अधिकार सचेतना समूहकी उपाध्यक्ष विनिता महतोले गरिवीका कारण केहि विद्यार्थीहरु जान अन्जानमा बालश्रम गरिरहनु परेका कारण विद्यालय जानबाट वञ्चित रहेको बताउनु भयो । त्यस्तै बाल अधिकार सचेतना समूहकी सदस्य खुशप्रित कुमारी महतोले आफ्नो विद्यालयमा विद्यार्थी सङ्ख्या उच्च रहेका कारण नर्सरी, एक र दुई कक्षाका विद्यार्थीहरु विद्यालय आउनबाट वञ्चित रहेको बताउनु भयो । विद्यालयमा साबुन र सेनिटाइजरको उपलब्धता नभएको, बालमैत्री धाराहरु नभएको, विद्यालयमा बिरामी पर्दा उपचार गराउन विद्यालयमा स्टाफ नर्स वा डाक्टर आवश्यक रहेकाले विद्यालयमा स्टाफ नर्स वा डाक्टरको व्यवस्था गरिदिन शिक्षा शाखा प्रमुख समक्ष अनुरोध गर्नु भयो ।
त्यस्तै बाल अधिकार सचेतना समूहकी सदस्य मन्जु सिंहले कोरोनाका कारण कुनै विद्यालय चाँडै र कुनै विद्यालय ढिलो खुलेकाले परीक्षा, अध्ययन समय र पाठ्यक्रमको अध्यापनाम आएको असमानताका कारण विद्यार्थीहरुको शैक्षिक सत्रमा असर परेको बताउनु भयो । श्री महेन्द्र मावि, ढल्केवरकी छात्रा पूजा रिमालले एउटै कक्षा कोठामा करिब १ सय जना विद्यार्थीहरु पढ्न बाध्य रहेको गुनासो गर्दै विद्यालयमा सेनिटरी प्याड प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनका लागि कुनै व्यवस्था नभएको र विद्यालयमा शुद्ध खानेपानीको अभाव रहेको बारे शिक्षा शाखा प्रमुखकको ध्यानाकर्षण गराउनु भयो । श्री जनता मावि हरिहरपुरका छात्र ललित कुमार महतोले एउटै कक्षामा ७० जना विद्यार्थीहरु पढ्न बाध्य रहेको, विद्यार्थीको अनुपातमा शिक्षक संख्या कम रहेको साथै विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था नभएको गुनासो गर्नु भयो । त्यस्तै रेडियो स्वागतमका समाचार प्रमुख, पत्रकार तथा अभिभावक बिनोद महतोले प्रधानाध्यापकको लगनशिलता, विद्यालय व्यवस्थापन समितिको नियमित अनुगमन, शिक्षकहरुको चिन्तन, अभिभावकहरुको चासो र विद्यार्थीहरुको अनुशासन भएमा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने बताउनु भयो ।
श्री महेन्द्र मावि, ढल्केवरका प्रधानाध्यापक रामकुमार महतोले परिवार र समाजबाटै छोरा र छोरीलाई पढाउने कुरामा विभदे रहेको उल्लेख गर्दै यस्ताखालका जनचेतनामूलक र अन्तरक्रियात्मक कार्यक्रम ग्रामिण तहमा पनि लैजान आवश्यक रहेको बताउनु भयो । त्यस्तै श्री जनता मावि, नक्टाझीजका प्रधानाध्यापक श्यामकुमार यादवले अभिभावकहरुको अङ्ग्रेजी शिक्षाप्रति बढी आकर्षित रहेका कारण विद्यालयमा अङ्ग्रेजी शिक्षा लागु गर्दा विद्यार्थीको चाप बढेको र सोही कारण विद्यार्थीहरुसँग शुल्क लिएर करारमा शिक्षकहरु नियुक्त गर्न बाध्य रहेको बताउनु भयो । देशका थुप्रै कानुनहरु परिस्थिति र समयसँगै परिवर्तनशिल हुने गरेतापनि शिक्षासँग सम्बन्धित शिक्षा ऐन २०२८ भने हालसम्म नै लागु रहेको अवस्थाले शिक्षा क्षेत्रमा सरकारले ध्यान नदिएको आफूले अनुभूति गरेको बताउनु भयो । लामो समयदेखि दरबन्दी अनुसारका शिक्षकहरु विद्यालयमा नुहँदा विद्यार्थीहरुको शिक्षामा प्रतिकुल असर पर्न गएका कारण विद्यालयमा जगेडा शिक्षक वा वैकल्पिक शिक्षकको व्यवस्था गर्ने नीति स्थानीय तहले कार्यान्वयमा ल्याउनु पर्नेमा उहाँले जोड दिनु भयो ।
त्यस्तै श्री जनता मावि, नक्टाझीजका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नारायण महतोले यस अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरुलाई समाधान गर्नका लागि तत्काल यथास्थानमै गई स्थानीय तहले अनुगमन गर्नु पर्नेमा जोड दिनु भयो । मिथिला नागरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सीता काफ्लेले कार्यक्रममा उठेका समस्याहरुलाई प्राथमिकताका आधारमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । इन्सेकले आयोजना गरेको कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेकाले यस कार्यक्रमलाई ग्रामीण तहमा लैजान आवश्यक रहेको भन्दै उठेको सवालहरुलाई नीति निर्माणका क्रममा समावेश गर्न आवश्यक रहेकाले स्थानीय सरकारका सबै जनप्रतिनिधिहरुलाई कार्यक्रममा सहभागि गराउन आवश्यक रहेको उहाँले बताउनु भयो ।
आफूहरुसँग भौतिक निर्माणमा कुनै बजेट नरहेकाले विद्यालयसँग रहेका स्रोत र साधनहरुको अधिकतम प्रतिफल प्राप्त हुने गरी लगानी गर्न सकेमा त्यसबाट प्राप्त आम्दानीलाई विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा लगानी गर्न सकिने उहाँले बताउनु भयो । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले संविधानको धारा ३१ मा उल्लेख भए अनुसारका हक अधिकारहरु प्राप्तिका लागि स्थानीय समुदायलाई सचेत बनाउन र जिम्मेवार निकाय तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुलाई जबाफदेही बनाउन प्रदेश २ का पाँच जिल्लाका १० स्थानीय तहहरुमा इन्सेक क्रियाशिल रहेको बताउनु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम