शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की । २०७८ कात्तिक १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रूपा गाउँपालिका–६ मा शिक्षाको अधिकारबारे  शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते सम्पन्न भएको छ । कार्यक्रममा रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले नयाँ पुस्ताले अधिकारका विषयमा अध्ययन गरेर पुरानो पुस्तालाई सिकाउन आवश्यक रहेको बताउनुभयो । बालविवाह र बहुविवाहलाई संविधानले बन्देज लगाएको भन्दै त्यस्ता कामहरू रोक्न युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले रूपा गाउँपालिका–६ मा रहेका मुस्लिम समुदायका बालबालिकाहरू भर्ना भएपनि विद्यालयमा निरन्तरता दिन छाड्ने गरेको बताउनुभयो ।

विद्यालयमा पठाउनु हुँदैन भन्ने मान्यता गलत रहेको भन्दैसबै बालबालिकाहरूलाई अनिवार्य विद्यालय पठाउन आग्रह समेत उहाँले गर्नुभयो ।रूपा गाउँपालिका शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन अभिभावकसँग आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई पोशाक, कापी, किताब नभएकै कारण विद्यालय जान नसकेको अवस्था भएमा गाउँपालिका सहयोग र समन्वय गर्न तयार रहेको बताउनुभयो । मदरसामा पढाइने पाठ्यक्रम र समय अवधि पर्याप्त नभएको भन्दै उहाँले मदरसालाई व्यवस्थित ढङ्गबाट मापदण्ड पुर्याएर सञ्चालन गर्ने भएपनि शिक्षा शाखाले दर्ताको प्रक्रियामा अगाडि बढ्न सक्ने बताउनुभयो ।

धार्मिक विद्यालयलाई दर्ताका लागि अनिवार्य १० बजेदेखि ४ बजेसम्म कक्षा सञ्चालन गरिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा अधिकारकर्मी नाजवुन मियाँले आचरण, सोच र शैलीलाई परिर्वतन गर्न आवश्यक रहेको बताउनुभयो । छोरीहरूलाई शिक्षित बनाउन सकेमा समाजमा सकरात्मक परिर्वतन आउने भन्दै छोरी मात्रै नभइ सबै बालबालिकालाई शिक्षा प्राप्तिको अधिकारलाई सुनिश्चित गराउन अभिभावकहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । चन्द्र प्रभा माध्यमिक विद्यालयका प्रधानाध्यापक भोलानाथ पौडेलले मुस्लिम समुदायमा बालबालिका पढाउने सवालमा पहिलेको तुलनामा परिर्वतन आएपनि अझै पर्याप्त नभएको बताउनुभयो । उहाँले हरेक बालबालिकालाई विद्यालय पोशाकमा नियमित विद्यालय पठाउन आग्रह गर्नुभयो ।

विद्यालय प्रति मुस्लिम समुदायका अभिभावकहरूको चासो अत्यन्तै कम रहने गरेको भन्दै विद्यालय र बालबालिका बारे ध्यान दिन आग्रह गर्नुभयो । ‘बालबालिका विद्यालय पुगे नपुगेको , कस्तो पढिरहेको छ भनेर अभिभावकहरूले चासो दिनुपर्छ’,–उहाँले भन्नुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संविधानमा रहेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा नागरिकहरूले बुझ्नुपर्ने बताउनुभयो । उहाँले राज्यसँग आफ्ना अधिकार प्राप्तिका लागि माग गर्नुपर्ने बताउनुभयो । वडा नम्बर ६ का वडा सदस्य हर्कबहादुर गुरूङले शिक्षाको अधिकार बारे पछिल्ला दिनमा मुस्लिम समुदायमा सचेतना बढ्दै आएको भएपनि अझै पर्याप्त नभएको बताउनुभयो । उहाँले नागरिक संस्था, स्थानीय सरकार मिलेर अधिकारका सवालमा सचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा अभिभावक गफारूद्धिन मियाँले विद्यालयले समयसमयमा अभिभावकहरूलाई सहितको बैठक गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै कार्यक्रमका सहभागी नुर मियाँले बालबालिकाले कक्षा गर्ने व्यवहार प्रति शिक्षकहरूको चासो नरहने गरेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, मुस्लिम समुदायका विद्यार्थी, अभिभावक र चन्द्र प्रभा माध्यमिक विद्यालयका शिक्षकहरूको उपस्थिती रहेको थियो ।

सुशन घिमिरे