शिक्षाको अधिकारसम्बन्धी सरोकारबाला निकायबिच अन्तरक्रिया
धनुषा । २०७८ चैत २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा चैत २२ गते शिक्षाको अधिकारसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रियामा शिक्षाको अधिकारसम्बन्धी संवैधानिक व्यवस्था, विद्यमान शिक्षा नीति, प्रावधान र सोको कार्यान्वयनको अवस्थाका बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो । अन्तरक्रियामा सहभागीहरूले शिक्षामा भएको राजनीतिकरण र व्यावसायिकीकरणले गुणस्तरीय शिक्षा प्राप्तिमा अवरोध सृजना भएको, विद्यालयमा छात्राहरूका लागि छुट्टै सेनिटरी प्याड चेन्जिङ्ग रुम नभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच नभएको, चेतनाको अभावका कारण शिक्षालाई प्राथमिकतामा नराख्दा विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच नपुगेको लगायतका समस्याहरूको पहिचान गरी सोको समाधान बारे छलफल गरिएको थियो ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाकी उपप्रमुख रचना माथेमाले विद्यालयहरूमा गठन गरिएका विद्यालय व्यवस्थापन समितिहरूले क्रियाशिलता देखाइ शिक्षासँग सम्बन्धित अधिकांश समस्या विद्यालय स्तरबाटै निराकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले क्षिरेश्वरनाथ नगरपालिका भित्रका विद्यालयहरूबाट प्रदान गरिने शिक्षाको गुणस्तरमा वृद्धि गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरूको त्रिकोणात्मक सम्बन्ध बलियो बनाउनुपर्ने बताउनु भयो । ‘विद्यार्थी र अभिभावकहरूले शिक्षासँग सम्बन्धित गुनासो भएमा नगरपालिकामा ल्याउनु पर्छ । हामी समाधानमा लागि पर्छौँ ।’–उपप्रमुख माथेमाले भन्नु भयो । क्षिरेश्वरनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार घिमिरेले शिक्षासँग सम्बन्ध राख्ने थुप्रै व्यवस्थाहरू भएतापनि चित्त बुझ्दो नतिजा हासिल गर्न नसकिएको जानकारी गराउनु भयो । शिक्षाको अधिकारको सुनिश्चितताका लागि शिक्षक, अभिभावक विद्यार्थी, कर्मचारी र जनप्रतिनिधिहरू जिम्मेवार हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
नगरपालिकाको समग्र शिक्षाको अवस्थाबारे प्रस्तुतिकरण गर्दै शिक्षा शाखा प्रमुख दिपक खत्रीले स्थानीय सरकार सञ्चालन ऐन २०७४, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र नेपालको संविधानमा उल्लेखित व्यवस्थाहरूबारे सहभागीहरूलाई जानकारी प्रदान गर्नु भयो । उहाँले संविधान प्रदत्त हक अधिकारहरूको प्रभावकारी कार्यान्वयनतर्फ कर्मचारीहरू र जनप्रतिनिधिहरू पूर्णत जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो । इन्सेक मधेस प्रदेश प्रमुख राजु पासवानले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन इन्सेकले पुलको भूमिका निर्वाह गर्दै स्थानीय समूह तथा सरकारसँग सहकार्य र समन्वय गर्दै आएको जानकारी गराउनु भयो । उहाँले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन सकेमा शिक्षा सँगसँगै आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र नागरिक अधिकारहरूको समेत संरक्षण गर्न सहज हुने बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय