शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
रौतहट । २०७७ पुस २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २२ गते चन्द्रपुर नपा–८ सन्तपुर स्थित श्री सुवलाल भागवत उच्च माविमा शिक्षाको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उच्च माविका प्रध्यानाध्यापक देवानन्द चौधरीले भौतिक संरचना तथा पर्याप्त शिक्षक दरबन्दी भए मात्र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने बताउनु भयो ।

शिक्षक शिव तिमल्सिनाले सरकारले कोभिड–१९ को समयमा विद्यालय सञ्चालन नगर्नु भनेपछि विद्यालयको आन्तरिक व्यवस्थापनको कार्य गरिएको बताउनु भयो । स्टाफ नर्स कञ्चन भण्डारीले बालिकाहरूको महिनावारीको समयमा सेनिटरी प्याडको उपलब्धतासँगै आवश्यक औषधि उपचारमा विषेश ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष टेकबहादुर चौरेले मानव अधिकार शिक्षामा जोड दिनु पर्ने उल्लेख गर्दै मानव अधिकार शिक्षा अभिभावकलगायत सबैलाई सिकाउनु आवश्यक रहेको बताउनु भयो ।अभिभावक रमिता रामले कोभिड–१९ को कारणले विद्यालय बन्द हुँदा सबै बालबालिका लक्षित हुने गरी विद्यालयले वैकल्पिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिनु भयो । कक्षा ९ की छात्रा पिन्की गुप्ताले शिक्षा जति बढी भयो दाइजो त्यति नै दिनुपर्छ भन्ने समाजमा भ्रम फैलिएकोले दाइजोविरुद्ध अभियान चलाउन आग्रह गर्नु भयो ।
कोपिला तिमल्सिना
HUMAN RIGHTS NEWS PORTAL






