शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
दोलखा । २०७७ चैत १८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग तथा कालिन्चोक गाउँपालिकास्तरिय मानव मानव अधिकार समूह र कालिका माध्यमिक विद्यालयको संयोजनमा विद्यालयस्तरिय शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १३ गते कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा सम्पन्न भयो । कालिका माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाउँपालिका शिक्षा शाखा प्रमुख रोशनी आचार्यले नेपालमा विद्यमान शिक्षासम्बन्धी कानुनी प्रावधानका बारेमा जानकारी गरांउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि आचार्यले भेदभावरहित माध्यमिक तहसम्म निशुल्क र अनिवार्य शिक्षा प्रदान गर्न नेपाल सरकारको तर्फबाट पालिका क्रियाशील रहेको बताउनु भयो । बाल संरक्षण शिक्षक बालकृष्ण खड्काले ग्रेड प्रणालीका कारण विद्यार्थीले पढाईमा ध्यान नदिने, जसरी पनि परीक्षामा उतिर्ण भइन्छ भन्ने वातावरण सिर्जना भएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका सदस्य सबिना रेग्मी र मुकुन्द रेग्मीले शिक्षकले अध्यापनमा कम ध्यान दिएको गुनासो गर्नु भयो ।
कार्यक्रममा सहभागी छात्र छात्राहरुले पढाई नियमित नभएको, अतिरिक्त क्रियाकलाप कम हुने गरेको, स्थानीय भाषामा पाठ्यक्रममा शिक्षण हुन नसकेको बताए । यसैगरी उनीहरूले छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने विभेदको अन्त्य हुनुपर्ने बताए ।
उद्धव पोखरेल