शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्याङ्जा । २०७८ वैशाख ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा फेदिखोला गाउँपालिका–२ स्थित काला भैरव माध्यमिक विद्यालयमा शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम वैशाख ३ गते सम्पन्न भएको छ । मानव अधिकार संरक्षण र सम्बर्ध्दनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा फेदिखोला गाउँपालिकाकी उपाध्यक्ष देवी थापाले इन्सेकले विगत लामो समयदेखि सूचनामुलक र चेतनामुलक कार्यक्रम गर्दै आएको र यस्ता कार्यक्रमले समाजमा रहेका सरोकारवालाहरुलाई झक्झकाउने काम गरेको बताउनुभयो । उहाँले बदलिदो शिक्षाको परिस्थितिमा विद्यार्थीहरुलाई इन्टरनेटको प्रभावकारी प्रयोगबाट शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले गाउँपलिकाभित्र चेतनामुलक विभिन्न कार्यक्रमहरु हुँदै आएको र गाउँपालिकामा आउने बजेट मध्ये ३८ प्रतिशत बजेट शिक्षामा विनियोजन गरिएको बताउदै बाल अधिकारसम्बन्धी विभिन्न पक्षमा पनि आगामी वर्षमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । फेदिखोला गाउँपालिकाका शिक्षा प्रमुख रामचन्द्र गुरुङले पालिका भित्रका शैक्षिक सुधारका कार्यक्रम तथा आगामी वर्षमा विनियोजन गरिएका कार्यक्रमहरुको कार्यपत्र पेश गर्दै आगामी वर्षमा स्थानिय पाठ्यक्रमलाई पनि पठनपाठन समावेश गरिने बताउनुभयो ।कार्यक्रममा विद्यालयका सहप्राध्यापक डिल रमण कोइराला तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर खत्रीले इन्सेकद्वारा सञ्चालित यस्ता सूचना र खबरदारिका कार्यक्रमहरुले समाजमा रहेका समस्याहरुको पहिचान र समाधानमा उपायहरु सिकाउने बताउनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले पनि आफ्ना विद्यालयमा भएका समस्याहरुको पहिचान गराएका थिए । उनीहरुले विद्यालयमा सफा पिउने पानी, खेलमैदान, नृत्य तथा संगीतका कक्षा र क्यान्टिनको व्यवस्था हुनुपर्ने कुरा गरेका थिए । विद्यार्थीले विद्यालयमा हुन सक्ने विभिन्न बाल अधिकार हनन र हिंसाहरुका बारेमा छलफल गर्दा यस्ता गतिविधिहरु हाल नभएको बताएका थिए । कार्यक्रममा छलफलको क्रममा विद्यालयका सहप्राध्यापक डि एल कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर खत्रिले विद्यालयको जग्गा अभाव र वनमा भएको आगजनीका कारण खेलमैदान पर्याप्त नभएको र विद्यालयमा खानेपानिमा समस्या देखिएको कुरा बताउनुभयो । कार्यक्रममा फेदिखोला गाउँपालिका मानव अधिकार समुह संयोजक लेखनाथ पराजुलीले इन्सेकद्वारा सञ्चालित यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । ४६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यक्रमको उद्धेश्य माथि प्रकाश र स्वागत मन्तव्य इन्सेक कार्यक्रम फोकल पर्सन सवनम शर्माले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन इन्सेक स्याङजा जिल्ला प्रतिनिधि तिलकुमारी थापाले गर्नुभएको थियो ।

तिलकुमारी थापा