शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहुँ । २०७८ कात्तिक १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक १६ गते वडा नम्बर ३ स्थित जनजागृती माविमा सम्पन्न गरिएको छ  । नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र नगरपालिकाको शिक्षा नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने र सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा भानु नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक श्रीकृष्ण त्रिपाठीले नगरपालिकाले चालु शैक्षिक सत्रमा सञ्चालन गरेको शिक्षासम्बन्धी नीति, शैक्षिक कार्यक्रम र शिक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । नगरपालिकाले शिक्षाको क्षेत्रमा राम्रा योजनाहरु ल्याएपनि कार्यान्वयनको अभाव भएको उहाँको भनाइ थियो । ‘दिवा खाजा, छात्राहरुलाई सेनेटरी प्याड, स्थानीय पाठ्यक्रमको निर्माणका विषयहरु नीति तथा कार्यक्रममा उल्लेख भएपनि कार्यान्वयनमा भने समस्या भएको छ ।’ –उहाँले भन्नुभयो– ‘विद्यालय क्षेत्र भने जङ्कफुड मुक्त गराइएको छ । ’ ५७ ओटा सामुदायिक विद्यालय रहेको भानु नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच ओटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरेको, स्थानीय मातृभाषामा पाठ्यक्रमको निर्माण गरिएको, प्रत्येक आधारभुत विद्यालयमा इण्टरनेट जडान, प्राविमा कम्प्युटर र प्रिन्टरको व्यवस्था, वैकल्पिक शिक्षण विधिको विकास तथा कक्षा कोठाको व्यवस्थापन र स्तरोन्नतीको कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङले सबैको प्रयत्न र समन्वयमा विद्यालयलाई नमुना बनाइने बताउनुभयो । उहाँले भौतिक पुर्वाधारको निर्माण, शिक्षक दरबन्दी मिलान जस्ता विषयमा नगरपालिकाले विशेष चासो दिनुपर्ने बताउनुभयो । जनजागृती माविका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले इन्सेकको सहयोगबाट सञ्चालन गरिने बाल अधिकार कार्यक्रमहरुले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनुभयो । मानव अधिकार समुह भानु नगरपालिकाका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।

प्रकाशचन्द्र भट्टराई