शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाग्लुङ । २०७८ कात्तिक १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा काठेखोला गाउँपालिका–१ स्थित भिमसेन माध्यमिक विद्यालयमा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा काठेखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमाउचैले गाउँपालिकाले बनाएको शिक्षा निती बारे प्रतिवेदन पेश गर्नुभएको थियो । राज्यले मौलिक हकको रूपमा राखेको शिक्षाको अधिकारलाई गाउँपालिकाले पनि प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।उहाँले  विद्यालयले दिवा खाजा व्यवस्थापन, निःशुल्क प्याड, शिक्षक तालिम, बाल कक्षा सञ्चालन जस्ता कार्यक्रमहरू गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले शिक्षा क्षेत्रमा निजीकरण भइरहेको बताउदै शिक्षा सस्तो र सुलभ मुल्यमा सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी विद्यार्थी अस्मिता थापाले विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप आयोजना गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन भएपनि धारामा पानी नियमीत नआएको बताउनुभयो । विद्यालयले प्रदान गर्ने दिवा खाजाको गुणस्तर राम्रो नरहेको बताउदै उहाँले सो को गुणस्तरलाई राम्रो र पौष्टिक बनाउन अनुरोध गर्नुभयो । 

अभिभावक संद्यका अध्यक्ष टिका बहादुर थापाले विद्यालयमा प्रविधिक विषयको पाठ्यक्रमलाई पनि समावेश गरिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले विद्यालयमा प्रयोगशालाहरू नरहेकोले विद्यार्थीहरूमा सो बारे ज्ञानको अभाव भएको बताउनुभयो । कार्यक्रमका सहभागीहरूले पछिल्लो समय विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण र दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएपछि नियमित विद्यालय आउने  विद्यार्थीहरूको सङ्ख्यामा वृद्धि भएको बताएका थिए । कार्यक्रममा अनुभव जिसीको अध्यक्षतामा बाल अधिकार चेतना समूह गठन गरी समूहलाई बाल अधिकार कार्यक्रम सञ्चालन गर्न १० हजार रुपियाँ कोष हस्तान्तरण गरिएको थियो ।

सिर्जना पन्त