शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जाजरकोट । २०७८ असोज २० गते

इन्सेक जाजरकोटको आयोजना तथा मानव अधिकार समूह छेडागाड नगरपालिकाको समन्वयमा ०७८ असोज १८ गते नारायणी मावि कार्की गाउँमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरूले नारायणी मावि कार्की गाउँमा सञ्चालित विद्यालय स्वास्थ्य सेवा प्रभाव हिन भएको गुनासो गरेका छन् । नारायणी माविका प्रधानाध्यापक गणेश बस्नेतले विद्यालयमा हाल कुनै पनि औषधि नरहेको र औषधि उपलब्ध गराउने विषयमा छेडागाड नपामा जाँदा विद्यालयमा पठाउने औषधि तथा अन्य स्वास्थ्य सामग्री केही समयमा पठाइने भन्दै आलटाल गरिएको बताउनुभयो ।

शुरूमा सामान्य उपचारको औषधि उपलब्ध गराइए पनि ६ महिनायता कुनै औषधि नदिइएको र विद्यार्थीले समयमै उपचार नपाउँदा विद्यार्थीको गुनासो सुनेर मात्र बस्नु परेको प्रधानाध्यापक बस्नेतले जानकारी दिनु भयो । कार्यक्रममा सहभागी शिक्षकहरूले समयानुकल तालिम नपाएको गुनासो गरेका थिए  यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य रत्नबहादुर रोकाय तथा विद्यालयका शिक्षक कमल ज्ञवालीले दरबन्दी अनुसार शिक्षकहरूको पदपुर्ति हुन नसक्दा विद्यार्थीबाट शुल्क उठाउन बाध्यहुनु परेको बताउनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कक्षा ६ देखि माथि कम्प्यूटर विषय राखिए पनि विद्यालयमा कम्प्यूटर र विज्ञान प्रयोगशालाको उचित प्रबन्ध नभएको र शौचालय सफा तथा व्यवस्थित नभएको गुनासो गरेका थिए । मानव अधिकार समूह छेडागाडका सदस्य धर्मलाल वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विव्यसका सदस्य, शिक्षक अविभावक संघ, अविभावक, मानव अधिकार समूहका सदस्य, शिक्षक शिक्षिका, बाल अधिकार चेतना समूहका सदस्य र विद्यार्थीको सहभागिता रहेको थियो ।

यसैबिच शिवालय गाउँपालिका–१ स्थित नेपाल राट्रिय मावि सिमामा असोज १७ गते शिक्षाको अधिकार विषयक सरोकारवालासँगको अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शिवालय गाउँपालिका–१ का अध्यक्ष मानबहादुर पुनले विद्यालयमा निःशुल्क औषधि र निःशुल्क सेनेटरी प्याड हालसम्म कोभिडका कारण विद्यालय बन्द रहेकाले उपलब्ध नगराइएको र अब उपलब्ध गराइने बताउनु भयो । सेनेटरी प्याड उपलब्ध गराउन विद्यालय व्यवस्थापन समितिको पटक पटकको बैठकले निर्णय गरी नगर शिक्षा शाखामा माग गरेको तथा प्रधानाध्यापकहरूको नियमित बैठकमा समेत आफूले पटक पटक जानकारी गराएको प्रअ चन्द्रबहादुर पुनले जानकारी दिनु भयो ।

दिनेशकुमार श्रेष्ठ