शिक्षा अधिकार विषयक अन्तरक्रिया सम्पन्न

रामेछाप । ०७८ असोज २१ गते

इन्सेकको आयोजना र मानव अधिकारा संरक्षण सञ्जालको समन्यमा शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७८ असोज २१ गते मन्थलीमा सम्पन्न भएको छ । कार्यक्रममा मन्थली नगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमन्त बुढाथोकीले प्रारम्भिक प्रक्षेपणले मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर नभएको बताउनुभयो । यसको अझै थप अध्ययन गरी कुनै बालबालिका विद्यालय बाहिर रहेको भए विद्यालय ल्याउने उहाँले बताउनुभयो ।

 

बुढाथोकीले कोभिडको जोखिम अझै पनि कायम रहेकाले विद्यार्थीलाई सुरक्षित राख्न सबैको ध्यान जानुपर्ने बताउनुभयो । कार्यक्रममा रेडक्रस रामेछापका सभापति शिव कार्कीले कोभिडको कारण साना बालबालिकाको पढाइै शून्यमा झरेको बताउनुभयो । उहाँले बालबालिका अनलाइन कक्षा पढ्ने बहानामा मोवाइलमा केन्द्रीत भएकाले त्यसले मानसिक समस्या बढाएको बताउनुभयो । रामेछाप बारका अध्यक्ष बिचारसिं तामाङले विद्यालय बन्द हुँदा पढाई तहसनहस भएकोले अब यसलाई समेर लैजानु पर्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले सङ्क्रमण कम भए पनि जोखिम कायम रहेकाले विद्यालय र भिडभाड हुने क्षेत्रहरूमा स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डवप्रसाद प्रसाईँले विद्यालय नियमित नहुँदा पनि संस्थागत विद्यालयले पुरै शुल्क असुलेकोमा पालिकाको अनुगमन फितलो भएको उल्लेख गर्नु भयो ।

 

नवराज पथिक