शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ पुस २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तक्रिया कार्यक्रम पुस २८ गते चौमालामा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिका–४ का वडा अध्यक्ष भागरती विष्टले आफू निर्वाचित भएर आएपछि शिक्षामा सुधार ल्याउन विद्यालयमा खानेपानीको व्यवस्था,१० कक्षासम्म निःशुल्क गुणस्तरीय शिक्षा, विद्यालयमा अपाङ्गमैत्री भौतिक संरचना निर्माण र प्राविधीक शिक्षामा जोड दिएको र वडा कार्यालयको सिफारिसमा गरिब असहाय, अपाङ्गता भएका व्यक्तिलाई सरकारी अस्पतालमा १० हजार रुपियाँसम्म निःशुल्क उपचार गर्ने व्यवस्था गरेको बताउनु भयो ।
गौरीगंगा नगरपालिका–४ का स्वास्थ्य इकाइका प्रमुख प्रदिप ढकालले टोलटोलमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले बच्चाहरुको पोषण, खोप, औषधि तथा बर्थिङ् सेन्टरको अवस्थाका बारेमा नगरपालिकालाई जानकारी गराउनु पर्ने बताउनु भयो । सिद्धबाबा आधारभुत बिद्यालयका शिक्षक रामप्रसाद चौधरीले शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकार भएपनि बालमैत्री सिकाई हुन नसक्दा शिक्षाको गुणस्तर खस्केको र नगरपालिकाले अभिभावकहरुलाई मनोसामाजिक परामर्श तालिमको व्यवस्था गर्नु पर्ने बताउनु भयो । जनता आधारभूत विद्यालयका शिक्षक भवानीप्रसाद भुसालले समुदायमा अपाङ्गता भएका तथा आँखा नदेख्ने, कान नसुन्ने विद्यार्थीका लागि स्थानीय सरकारले प्रत्येक विद्यालयमा तालिम प्राप्त शिक्षक र शिक्षण सामग्रीको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
मैनामोती चौधरी