शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
रौतहट । २०७८ भदौ २९ गते
इन्सेकको आयोजनामा गरुडा नगरपालिका–८ र ९ मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गरुडा नपा–८, जिङ्गडियामा शिक्षाको अधिकार विषयक शिक्षक अभिभावक र विद्यायार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रामचन्द्र माविको कक्षा १० का विद्यार्थी खुसीकुमारी साहले विद्यालयको शिक्षा गुणस्तरीय रहेको, शिक्षकहरू समयमा उपस्थिति हुने गरेको तथा समयसमयमा अतिरिक्त क्रियाकलाप हुने गरेको बताउनु भयो । शिक्षक कुन्दनप्रसाद साहले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक तथा प्रयोगशालासम्बन्धी राम्रो व्यवस्था रहेको बताउनुभयो । अभिभावक विन्दाप्रसाद भेडिहरले विद्यालयमा सीसी क्यामरा जडान गरिएकोले विद्यालयको अनुशासन राम्रो रहेको पाइएको बताउनु भयो । शिक्षक महेन्द्रप्रसाद यादवले विद्यालयमा विद्यार्थीको चाप बढी रहेको, कक्षाकोठाको अभाव रहेको र शिक्षक दरबन्दी कम रहेकाले शिक्षाको गुणस्तर कायम राख्न कठिनाइ भएको बताउनु भयो ।
त्यसैगरी गरुडा नगरपालिका–९ रघुनाथपुरको प्राथमिक स्वास्थ्य चौकीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख सत्यनारायण बाल स्वास्थ्य, पोषण, क्षयरोग, सुत्केरी, ओपीडी नियमिति जाँच तथा सञ्चालनमा रहेको कुरा बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रम लागु भएको र बर्थिङ सेन्टर यथासक्य चाँडो निर्माण गर्नको लागि वडा कार्यालयमार्फत योजना पेश गरी निर्माणको क्रममा रहेको बतानउनुभयो । चन्द्रपुर नगरपालिकाको मानव अधिकार निगरानी समूहका अध्यक्ष टेकबहादुर चौरेलले सेवाग्राहीलाई आफ्नो कुरा राख्न स्वतन्त्रतता रहेको र सो कुरा सम्बन्धित निकायमा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
कोपिला तिमल्सिना