शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न

डोटी । २०७७ माघ २६ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), धनगढीको सहयोग तथा मानव अधिकार समुह दिपायल, सिलगढीको  आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा माघ २५ गते सिलगढीमा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गरिने परियोजना अन्तर्गत सो कार्यक्रम गरिएको परियोजनाका जिल्ला सहजकर्ता रञ्जना बोगटीले बताउनु भयो । दिपायल सिलगढी नगरपालिकामा रहेका अधिकांश पसलहरुमा म्याद नाघी आएका खाद्य पदार्थ पाइने गरेको गुनासो उपभोक्ताहरुले गर्नु भएकोले उक्त समस्या समाधानका लागि आफूले पहल गर्ने दिपायल सिलगडी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सन्तोष बोहराले बताउनु भयो ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ का सदस्य धर्म साउदले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुलाई समाधान गर्न मानव अधिकार समुहसँग समन्वय गरेर भूमिका खेल्ने बताउनु भयो । आवासको अधिकारबाट वन्चित रहेका नागरिकहरुले आफूहरुका समस्यालाई सम्बोधन गराउनका लागि दवाबमूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको सिलगढी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बहादुरसिंह खडकाले   बताउनु भयो । जिल्ला समन्वय समितिका उपसंयोजक  शशी शोपले  मानव अधिकार समुहले मानव अधिकारका सवालमा सम्बन्धित पक्षलाई सचेत पार्दै आएको बताउँदै मानव अधिकारका सवालहरुलाई सम्बोधन गर्न स्थानीय तहहरु सक्रिय हुनु पर्ने बताउनु भयो ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासिले शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र तथा खाद्य क्षेत्रको  बिकासको लागि  नगरपालिकाले बिभिन्न प्रकारका कार्यक्रमहरु सञ्चाल गर्दै आएको बताउँदै नागरिकहरुको अधिकारको ग्यारेन्टीका लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘नागरपालिकाले  शिक्षा नीति बनाइ सकेको छ । सोही अनुसार कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गछौँ । स्थानीयहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र आवसको अधिकारमा पहुँच पुर्‍याउन विशेष कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’

बासुदेब जोशी