शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कास्की । २०७७ माघ २ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको सहकार्य गर्दै वडामा मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा मानव अधिकार समू्हका सदस्यहरूले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारका सवालमा समस्या र गुनासो सुनाउनुभएको थियो । मानव अधिकार सदस्य राजु परियारले वडामा अझै पनि भुकम्प प्रभावित घरहरू बन्न नसकेको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले खुदी खोलाको कटानबाट प्रभावितहरूलाई वडाले उचित व्यबस्थापन गर्नुपर्ने भनाइ राख्नुभयो । त्यस्तै वडा सदस्य विष्णु प्रसाद तिवारीले कार्यक्रम गर्नका लागि मात्रै भन्दापनि त्यसको प्रभावकारी कार्यन्वयन हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले मानव अधिकारका सवालमा इन्सेकको पहल कदमी प्रशंसनिय रहेको बताउँदै नागरिकका समस्यालाई समाधानका लागि प्रयासरत रहेको भनाइ राख्नुभयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख विश्वराज आचार्यले शिक्षाको संवैधानिक नीति, महानगरका योजनाका बारेमा जानकारी गराउनुभयो । उहाँले वडामा सञ्चालन भएका सामुदायिक अध्ययन केन्द्रलाई प्रभावकारी बनाउन समूहले भूमिका खेल्नुपर्ने बताउनुभयो । मानव अधिकार समूहका सदस्य ढक बहादुर थापाले विद्यालयमा व्यवहारिक शिक्षा आवश्यक रहेको भन्दै पाठ्यक्रमलाई व्यवहारिक र सिप मुलक बनाउनुपर्ने भनाइ राख्नुभयो । पोखरा महानगर स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले महानगरले स्वास्थ्यका क्षेत्रमा नागरिकहरूलाई प्रदान गर्ने सेवा बारे जानकारी गराउनुभयो । उहाँले शहरी स्वास्थ्य केन्द्रमा ३२ थरी औषधी निःशुल्क वितरण भैरहेको बताउँदै त्यो उपलब्ध भए नभएको पनि समूहले अनुगमन गरी सुझाव दिनुपर्ने भनाइ राख्नुभयो । शहरी स्वास्थ्य केन्द्रको अहेव शोभा बुढाथोकीले स्थानियहरूले आफूहरूलाई अविश्वास गर्ने गरेको बताउँदै सरकारी स्वास्थ्य सेवा लिन जनता समेत अग्रसर हुनुपर्ने बताउनुभयो । वडा स्तरिक कृषि सञ्जालका संयोजक तथा मानव अधिकार समूह सदस्य पदमराज तिवारीले कृषि सञ्जाल गठन गरिएपनि त्यसको परिचालन र प्रभावकारी रूपमा कृषकका समस्यालाई सम्बोधन गर्नका लागि आवश्यक बजेटको अभाव रहेको भनाइ राख्नुभयो ।
सुशन घिमिरे