शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न

कपिलवस्तु । २०७७ फागुन २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक  सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जकी  अधिकृत सरस्वती मल्लले इन्सेकले गर्दै आएका कार्यक्रमको प्रभावबाट नागरिकहरूले राहत पाउँदै आएको बताउनु भयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत आवश्यकतालाई व्यवस्थित गर्नुपर्ने सहभागीलेहरूले धारणा राखेका थिए । बाल मावि, बैरियाका बाल अधिकार चेतना समुहकी अध्यक्ष प्रतिक्षा गैरेले सरकारले विद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भने पनि विद्यालयमा महिनावारी हुँदा मात्र एक पटकमा एउटा मात्र प्याड उपलब्ध हुने गरेको बताउनु भयो । उहाँले आवस्यकता अनुसारको प्याडको व्यवस्था मिलाउन आग्रह गर्नु भयो । सेवागाहीहरूले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी  मिलान गर्नु पर्ने, आधारभुत शिक्षा निशुल्क र अनिवार्य  गर्नुपर्ने,  मावि शिक्षा निशुल्क भनिए पनि विभिन्न बाहानामा सरकारी विद्यालयहरूले शुल्क लिने गरेको गुनासो गरेका थिए ।

स्वास्थ्य अधिकारको सवालमा स्वास्थ्य चौकीहरूमा ब्लड प्रेसर र मधुमेहको चेकजाचँ तथा औषधि निशुल्क गराउनु पर्ने माग गरेका थिए । सेवाग्राहीले उठाएका सवालमा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शिक्षाको अवस्था विषयमा नगरपालिकाले गरेका काम तथा योजनाका वारे जानकारी गराउदै नागरिकहरूवाट आएका सुझावलाई अङ्गिकार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलले नागरिकका गुनासा नआउने गरि काम गरेको बताउदै आएका सुझावहरू आगामी वर्षमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो । पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले र कृषि शाखा प्रमुख लेषबहादुर केसीले सेवाग्राहीले उठाएका सुझावलाई आगामी वर्ष भित्रमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका मेयर मंगलप्रसाद थारूले नगरवासीहरूको स्वास्थ्य , शिक्षा , खाद्य र आवासमा देखिएका समस्याहरूलाई समाधान गर्न आफु लागि परेको बताउनु भयो । उहाँले शिक्षामा सुधार गरिएको र बाणगङ्गा नगरपालिका पूर्ण विद्यार्थी भर्ना र पूर्ण खोप घोषणा गरिएको, बालमैत्री शासन पालिका घोषणाको तयारीमा रहेको, बुद्ध शिक्षा, मदरसा शिक्षा, संस्कृत शिक्षा जस्ता विषयमा अध्यापन शुरू भएको बताउनु भयो । उहाँले फोहर ब्यवस्थापन, ब्यवस्थित बस पार्क , खरका छाना मुक्त तथा जनता आवास कार्यक्रम र सुरक्षित आवासका कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनु भएको थियो ।

पार्वती आचार्य