शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

तनहुँ । २०७८ वैशाख १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा भानु नगरपालिकाको संयोजनमा ०७८ वैशाख १७ गते भानु नगरपालिकामा नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धी परियोजना अन्तरगत आयोजित सो कार्यक्रममा बोल्दै भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै उहाँले संविधानले मौलिकहकको रुपमा व्यवस्था गरेको यी विषयहरुलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको बताउनुभयो । उपमेयर थापाले आधारभुत विद्यालयमा दिवा खाजा, आधारभुत देखि माथिल्लो तहका सबै विद्यालयमा सेनेटरी प्याडको उपलब्धता, आधारभुत विद्यालयमा स्मार्ट टिभीको व्यवस्था, कृषकलाई आधुनिक कृषि औजारको व्यवस्था गरिएको तथा दुध र अण्डामा नगरपालिका आत्मनिर्भर भएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले मौलिक हकहरु उपभोग गर्न पाउनु नागरिकको नैसर्गीक र संविधानप्रदत्त अधिकार भएको बताउनुभयो ।

नगरपालिकाले पनि नागरिकका यी मौलिक हकलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाएको उहाँको भनाई छ । इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको हुँदा आगामी वर्षका योजनाहरुमा ध्यानाकर्षणका बुँदाहरुलाई सकेसम्म सम्बोधन गर्ने प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र योजनाहरुलाई प्राथमिकतामा राखि सम्पन्न गर्ने र नीतिहरु बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।

मानवअधिकार समूहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर लामा, कार्यपालिका सदस्य लक्ष्मण माझकोटी, सिताराम सुर्खाली, स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, सामाजिक विकास अधिकृत कृपाहरी लौडारी, मानवअधिकार समुहका सदस्यहरु सिता अधिकारी, तुलसी गैरे, रुक्मिणी खनाल लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहिजकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।

प्रकाशचन्द्र भट्टराई