शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासी (सुस्ता पूर्व) । २०७८ असार ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय सरकार तथा सम्बन्धित निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रममा असार २८ गते विनयी त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि कार्यक्रम अन्र्तगत आयोजना गरिएको सो कार्यक्रममा मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्म बहादुर जि.सी.को अध्यक्षता तथा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले स्थानीय तहको निर्वाचन पश्चात गाउँपालिका र वडा मार्फत शिक्षाको सुधार, स्वास्थ्यमा पहुँच अभिबृद्धि, खाद्यको व्यवस्थापन र आवासको लागि कामहरू भइरहेको बताउनुभयो ।

वडाले शिक्षातर्फ भौतिक पुर्वाधारको विकास निर्माणसँगै बिद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था, शिक्षक अनुदान र भानुदय माविमा अध्ययन गर्ने दुई जना छात्रछात्रालाई छात्रावृत्तिको व्यवस्था गरेको बताउनुभयो । त्यस्तै स्वास्थ्यतर्फ शिविर सञ्चालन गर्ने स्वास्थ्य सेवा बिस्तार गर्न डाडाजोर र दाउन्नेमा स्वास्थ्य इकाइ स्थापना गरेको उहाँले बताउनुभयो । कृषि तर्फ विभिन्न तालिम गोष्ठी बिउबिजन अनुदानमा वितरण र आवासतर्फ खर वा फुसको छानो भएको निवेदन परेकालाई वडाको जनता आवास कार्यक्रम मार्फत घर निर्माण कार्य सम्पन्न गर्ने गरेको बताउनुभयो । कार्यक्रममा आफ्नो धारणा राख्दै मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका सदस्य दिपक विकले सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइएको शुल्क उठाउने गरेको भन्दै स्थानिय तहको ध्यानाकर्षण गराउनुभयो । सरकारले माध्यमिक तह सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तर त्यो लागु नभएको भन्दै दुखेसो गर्नुृभयो । कार्यक्रममा बोल्ने सहभागीहरूले बजार अनुगमन, निःशुल्क शिक्षा, सबैको स्वास्थ्यमा पहुँच र भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत भइरहेको कामहरूका बारेमा जिज्ञासा राखेका थिए ।

तिर्थराज डुम्रे